काशीराम शर्मा
बाँके, मङ्सिर २० गते । सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् ।
सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो समय नेपालगञ्जमा भएका सडक दुर्घटना नियमित र भवितव्य झैँ बन्न पुगेका देखिन्छन् । पछिल्लो समय नेपालगञ्ज–कोहलपुर सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । विशेषगरी नेपालगञ्ज–कोहलपुर सडकखण्डमा कुद्ने सवारी साधनको निशानामा पैदलयात्रु पर्ने गरेका छन् ।
केही महिनाअघि मात्र मोटरसाइकलको ठक्करबाट नर्सिङहोम अगाडि पैदलयात्रु एक महिलाको मृत्यु भयो । हप्ता दिनअघि मात्र काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको लु२ख २१४८ नंको बस गनापुरमा पल्टियो १२ जना घाइते भए । बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदल यात्रुले ज्यान गुमाएका छन् । नेपालगञ्ज वीरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोलपम्प सामुन्ने बुधबार दिउँसो मिनी ट्रकले कुचल्दा नेपालगञ्ज वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी बलबहादुर रावल र जुम्ला चन्दनाथ नगरपालिका बस्ने नरजीत बुढाको मृत्यु भयो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यी त केही उदाहरण मात्र हुन् । सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । नेपालगञ्जका सडक पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारीसाधनको लापरवाहीले गर्दा अनाहकमा ज्यान गइरहेको छ । नेपालगञ्जमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् ।
सडकभरि अव्यवस्थित तरिकाले गुडिरहेका सवारी साधनको अत्यास लाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने सवारी साधनबाट यात्रा गरिरहेका यात्रु मात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदल यात्रुसमेत मृत्युको मुखमा पर्ने गरेका छन् । साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगञ्जका यात्रुले चार लेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए । तर सडक चौडा भए पनि ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यति बेला दुर्घटनाको जोखिम बढेर आएको छ ।
दिनहुँजसो गुड्ने सवारी साधनले सडकमा पैदलयात्रा गरिरहेका यात्रुलाई आफ्नो सिकार बनाइरहँदासम्म पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । बजारक्षेत्रमै तीव्रगतिमा गुड्ने सवारी साधनले पैदलयात्री र अन्य सवारी चालकको सातोपुत्लोसमेत लिने गरेको छ । सडक बीच भागमा छाडा चौपाया आवतजावत गर्ने, बीच सडकमै बस्ने, सडकपेटी मिचेर खोलिएका पसल, सडकभरि अव्यवस्थित पार्किङ, मनपरी सडक काट्ने र सवारी साधन रोक्ने जस्ता कारणले दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । उपमहानगरपालिका ट्राफिक व्यवस्थापनमा ट्राफिकले कञ्जुस्याइँ गरेपछि यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुनुका साथै हिँडडुल गर्नसमेत अप्ठ्यारो बन्न पुगेको छ ।
नेपालगन्जमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधारणको मृत्यु भइरहेको छ । सडक पेटी ओगेटर राखिएका फुटपाथ पसल, ठेला र मनपरी ठाउँमा पार्किङ गरिएका सवारीसाधनले उपमहानगरको स्वरुप नै कुरुप बनाएको छ । विभिन्न चोक र सडकको बीचभागमै इ–रिक्सा, अटो र ठेलाको आतङ्क नै छ । बिहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको मतलव नगरेर सवारी चालक, फुटपाथ पसलेले आफ्ना दबदबा कायम गरिरहेका छन् । अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरि पनि वास्ता नै छैन ।
जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परेर यसअघि ६० ले अनाहकमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को एक तथ्याङ्कअनुसार जिल्लामा सवारी दुर्घटनामा परी ४२ पुरुष, १४ महिला र चार बालकले ज्यान गुमाएका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यासँगै घाइते हुनेको सङ्ख्या पनि बढेको छ । गत आवमा भएका दुर्घटनामध्ये ९९ ठूला दुर्घटनामा परी ४५ पुरुष, २३ महिला, सात बालक र एक बालिका गरी ७५ गम्भीर घाइते भए । यस्तै ५४ पुरुष, २९ महिला र तीन बालिका गरी ८६ सामान्य घाइते भएका दुई पशुचौपायाको मृत्यु हुनुका साथै एक घाइते भएकोसमेत ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक हप्ता सरदर दुई सवारी दुर्घटनामा पर्ने गरेका छन् भने प्रत्येक हप्ता कम्तीमा एकको मृत्यु अनि तीन गम्भीर घाइते हुने गरेका छन् । यी सबै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही, तीव्र गति, अव्यवस्थित पार्किङलाई नै औँल्याइएको छ । तथ्याङ्कअनुसार गत आवमा ९९ ठूला दुर्घटनामध्ये सबैभन्दा धेरै तीव्र गति र लापर्वाहीका कारण भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार पैदल यात्रुले असुरक्षितरुपमा जहाँबाट पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको जोखिम धेरै भएको छ । उहाँले भन्नुभयो, “पैदल यात्रुले जेब्राक्रसिङबाट मात्रै बाटो काट्ने हो भने दुर्घटनाको जोखिम निकै कम हुन्छ, त्यसो हुँदा सवारी चालकलाई सवारीको गति कम गर्न पनि सहज हुन्छ, जेब्राक्रसिङमा सवारीको गति अन्य क्षेत्रको भन्दा कम र सन्तुलित हुन्छ ।” चालकले किन ट्राफिक नियम पालना नगर्नु अर्को चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।