logo
२०८१ मंसिर १२ बुधवार



निःशुल्क अप्रेसनसहितको स्वास्थ्य शिविर शुरु

खुला |


निःशुल्क अप्रेसनसहितको स्वास्थ्य शिविर शुरु
जलेश्वर अस्पतालमा नेपाली सेनाका टोलीले शल्यक्रिया गर्दै गरेको


नागेन्द्रकुमार कण
जलेश्वर, मङसिर २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजना तथा प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्रकुमार यादवको संसदीय कोषको सहयोगमा जिल्लाको खखना तथा सदरमुकाम जलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
शुक्रबार विहान सोनमा गाउँपालिका वडानं. ३ खखनामा रक्षामन्त्री ईश्वर पोखरेलले तथा जलेश्वरमा स्वास्थ्यमन्त्रीले शिविरको उद्घाटन गर्नुहुने कार्यक्रम रहे पनि खराब मौसमको कारणले उहाँहरु आउन नसक्दा विना उद्घाटन नै शिविर शुरु गरिएको हो ।
खखनामा नेपाली सेनाका मेडिकल टिमले चेकजाँच गरी शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रियाको लागि पठाइनेछ । खखनामा स्वास्थ्य चेकजाँचसहित आवश्यक सम्पूर्ण औषधीहरु वितरण गरिएको वृहत स्वास्थ्य शिविरका संयोजक पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सो क्षेत्रका प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
जलेश्वर अस्पतालमा २५ र २६ गते चेकजाँच गरिएका विरामीहरुमध्ये केहीको जलेश्वर अस्पतालमा शल्यक्रिया शुरु गरिएको जलेश्वर अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले जानकारी दिनुभयो । उहाँले खखनाबाट शल्यक्रियाको लागि सिफारिस भइआएका विरामीहरुलाई माघ ५ गतेसम्म शल्यक्रिया गरिने बताउनुहुँदै सो अवधिमा करिब ६ सय विरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
जलेश्वर अस्पतालमा नेपाली सेनाका डा. समिर अर्याल र डा. श्रीजन मल्लको नेतृत्वमा २७ जनाको शल्यक्रिया गर्ने टिम खटिएको छ । सेनाले जलेश्वर अस्पतालमा महिलाको पाठेघरसम्बन्धी, हाइड्रोसिल, हर्निया, पित्तथैलीमा पत्थरी, मृगौलामा पत्थरी, पाइल्सलगायतका विरामीहरुलाई अप्रेसन गरिने जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म सातजना विरामीको शल्यक्रिया गरिएको जनाइएको छ ।
यसैबीच, खखनामा शुरु भएको वृहत स्वास्थ्य शिविरमा एकहजार ७ सयको चेकजाँच हुने स्वास्थ्य शिविर संयोजन समितिका प्रवक्ता अशोककुमार यादवले जानकारी दिनुभयो । उहाँले मौसममा आएको बदलाव तथा पानी परेको कारणले हामीले लिएको दुई हजारको लक्ष्य पुग्न नसकेको बताउनुहँुदै एकहजार ७ सयको नाम दर्ता भई उनीहरुको चेकजाँच गरिने जानकारी दिनुभयो ।
उहाँले मङ्सिर २७ गतेदेखि पुस ५ गतेसम्म चल्ने यस स्वास्थ्य शिविरबाट २० हजारभन्दा बढीले स्वास्थ्य उपचार पाउने तथा कम्तीमा पनि ६ सय विरामीहरुले निःशुल्क शल्यक्रियाको उपचार पाउने लक्ष्य रहेको छ । नेपाली सेनाले खखनामा अत्यावश्यक अवस्थामा प्रयोग गर्ने १२ वटा मेडिकल गाडीमा इसिजी, एक्सरे, ल्याव प्रयोगशालाका सेवा दिइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?