गोरखापत्र समाचारदाता
काठमाडौँ मङ्सिर २९ गते । । फिल्म र मिडियामा किशोरी र महिलाका चित्रणको विषय समेटेर गरिएको रिराइट हर स्टोरी (उनको कथाको पुनर्लेखन) नामक अनुसन्धान रिपोर्ट काठमाडौँमा सार्वजनिक भएको छ ।
सन् २०१८ विश्वका २० वटा मुलुकमा बढी व्यापार गरेका ५६ वटा फिल्मको विश्लेषण गर्दै प्लान इन्टरनेसनलले गरेको अनुसन्धान रिपोर्ट काठमाडौँमा जारी १७औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ सातोले सार्वजनिक गर्नुभयो ।
जम्मा ५६ वटा फिल्मको अनुसन्धानले मुख्य महिला कलाकारले पुरुषको तुलनामा पारदर्शी पहिरन लगाएको दृश्य चार गुणा बढी देखाइने गरेको, महिलालाई बढी मात्रामा कामुक रूपमा प्रस्तुत गर्ने गरेको सहितको निष्कर्ष निकालेको छ । अनुसन्धानले फिल्मको पर्दामा किशोरी र महिलाको कामुक र आपत्तिजनक चित्रण अन्त्य गर्नुपर्ने, महिलाले नेतृत्व गरेको कथालाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने, महिला फिल्म निर्माता र विषयवस्तु उत्पादकका लगानी बढाउनुपर्नेलगायत सिफारिस गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय निर्देशक सातोले प्लान इन्टरनेसनलले नेपालका फिल्मी क्षेत्रमा महिला कलाकारको विषय र उनीहरूलाई कसरी चित्रण गरिएको छ भन्नेबारे अनुसन्धान गर्न लागेको जानकारी दिनुभयो ।
प्रतिवेदन सार्वजनिकपश्चात् नेपाली फिल्म र मिडियामा किशोरी र युवा महिलाको चित्रणबारे अन्तरक्रिया भएको थियो । फिल्म क्षेत्र र लैङ्गिकता समानताको विषयमा काम गरिरहेका कविता राई, अभिमन्यू दिक्षित, क्षितिज अभिराज, रोजिता बुद्धाचार्यले अन्तरक्रियामा नेपाली फिल्मले किशोरी र महिलाको सम्मानजनक चित्रणलाई महŒव दिनुपर्नेमा जोड दिएका थिए ।
सोमबारदेखि किम्फ
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १७औँ संस्करणमा २९ देशका ६९ फिल्म प्रदर्शन भएको छ । पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव यही मङ्सिर २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ । नेपाली पानारोमाअन्तर्गत यसपटक १४ वटा फिल्म समावेश छन् । महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा समावेश छन् । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपियाँ जित्ने छन् ।
‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (नन्फिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपियाँ प्रदान गरिनेछ ।