नेत्र शाही
जुम्ला, मङ्सिर ३० गते । जडिवुटि संकलन गर्न गएर सम्पर्क विहीन भएका तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १३ जना सकुशल घर फर्किएका छन् ।
चार दिन देखी परिवार र गाउँको सम्पर्कमा आउन नसकेका उनिहरु तिला गाउँपालिका ९ ढिपु गाउँमा फिर्ता भएका हुन् । उनिहरुको उद्धार गर्न सुर्खेतमा हेलिकोप्टर उडन तयार भएको समयमा घर फकिएको खबर आएपछि हेलिकप्टर सुर्खेतमै रोकिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय १२ जना वेपत्ता भएका भन्ने भएपछि स्थानीय प्रशासन, गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा हेलिकप्टरबाट उद्धार गरिने तयारी भएको थियो ।
सम्पर्क विहीन भएका भन्दै वडाध्यक्ष शेरबहादुर रोकाया जिल्ला प्रशासन कार्यालयमा उद्धारका लागि आउनुभएको थियो । त्यहाँको शेरा फूलबारी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका उहाँहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार ‘सेतक चिनी, भुल्ते लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए ।
हेलिकप्टरबाट तयारी भईरहेको समयमा आफुहरु घर आईसकेको भन्दै स्थानीय छविराज वोहोराले टेलिफोनाट जानकारी गरेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी सहितको उद्धारटोली वोेकेर उडन तयार भएको हेलिकोप्टर फिर्ता भएको छ ।
बोहराका अनुसार सम्पर्क विहीन भएका भनिएकाहरु मध्य ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा, नरवहादुर बोहरा र कल्पना बोहोरा घर फर्केका हुन । छविराज वोहराले भारी हिमपात भएकाले बिस्तारै बस्दै घर फर्किदै समय लागेको बताउनुभयो ।
पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका त्यही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको ज्यान गएको बताईएको छ । तिला गाउँपालिका ६ को नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको ज्यान गएको स्थानीय प्रशासनले जानकारी दिएको हो ।