logo
२०८१ मंसिर १२ बुधवार



बल्दैनन् ट्राफिक लाइट

खुला |


बल्दैनन् ट्राफिक लाइट


प्रकृति अधिकारी

काठमाडौँ, पुस २ गते । राजधानीका चोकहरूमा राखिएका ट्राफिक बत्ती नियमित सञ्चालन नहुँदा यहाँको एउटा पुस्ता नै ट्राफिक बत्ती नदेखी हुर्कने सम्भावना देखिएको छ । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरू ट्राफिक बत्तीको निर्देशनअनुसार सवारी साधन चलेको नदेखी नै हुर्कने स्थिति देखिएको हो ।
थापाथलीकी बासिन्दा अञ्जली गिरी कुपण्डोलको प्रगति शिक्षा सदनमा कक्षा १० मा अध्ययन गरिरहनुभएको छ । पाँच वर्ष भयो उहाँ थापाथली चोक हुँदै सो विद्यालय जान थाल्नुभएको । “कहिलेकाहीँ बिहान रातो मात्र बलेको देखिन्छ”, उहाँले भन्नुभयो, “तीन थरीकै बत्ती बलेको सम्झना छैन । ट्राफिक बत्तीले गाडीलाई रोकेको दृश्य अहिलेसम्म देख्न पाएकी छैन ।”
स्कुले विद्यार्थीले कक्षा ५ को सामाजिक शिक्षा विषयमा ट्राफिक बत्तीका बारेमा पढेका छन् । ट्राफिक बत्तीका बारेमा परीक्षामा सोधिएको प्रश्नको उत्तर पनि लेखेका छन् तर वास्तविक रूपमा उनका लागि जिज्ञासाकै विषय बन्न पुगेको छ । थापाथलीको गुह्येश्वरी बाल शिक्षा माविमा कक्षा ६ का विद्यार्थी सीताराम गिरी पनि थापाथलीमै बस्नुहुन्छ । ट्राफिक बत्ती कसरी बल्छ र त्यसले गाडीलाई कसरी रोक्न सक्छ भन्नेबारेमा उहाँका लागि कौतुहलको विषय बनेको छ । “सरले तीनवटा रङ्गका ट्राफिक बत्ती बल्छन् भनेर सिकाउनुभएको छ” गिरीले भन्नुभयो, “तर कहीँ पनि बत्ती बलेको देख्न पाएको छैन ।”
उपत्यकाभित्रका अधिकांश ट्राफिक बत्तीले नियमित काम गरेको पाइँदैन । आक्कलझुक्कल मात्र सञ्चालन हुने यी बत्ती नियमित नभएको करिब १० वर्ष बितिसकेको छ । हातको इशारा र सिट्ठीका भरमा सवारी साधनको व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई केही समयअघि हातमा ‘गो र स्टप’ लेखिएको बोर्ड थमाइएको छ । ट्राफिक बत्ती नहुँदा उता ट्राफिक प्रहरीलाई पनि हैरानै छ । थापाथलीको ट्राफिक प्रहरी प्रभागका ट्राफिक प्रहरी शान्तिप्रसाद खनालले सुरुसुरुमा काँध दुःख्ने गरेको स्मरण गर्नुभयो । उहाँले थप्नुभयो, “पहिले त मालिस गर्नुपर्ने अवस्था थियो । ट्राफिक लाइट भइदिएको भए हामीलाई निकै सहज हुने थियो ।”
महानगरीय ट्राफिक वृत्त सिंहदरबारमा ट्राफिक प्रहरी जितबहादुर खत्री अब त ट्राफिक प्रहरीलाई बत्तीका बारेमा भन्दा पनि हातको इशारा बारेमा तालिम दिन थालिएको बताउनुभयो । ‘गो र स्टप’ बोर्डले केही सजिलो भए पनि सवारी चालकलाई हतार हुनु र ट्राफिकले रोक्दा रोक्दै पनि बत्तासिएर अगाडि बढ्ने प्रवृत्तिले सवारी व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्ने गरेको उहाँको अनुभव छ ।
अहिले कलङ्कीदेखि कोटेश्वरसम्मको चक्रपथ सुधार भएपछि सवारी साधनको चाप त्यस सडकमा उल्लेख्य बढेको छ र यसले गर्दा विभिन्न चोकमा ट्राफिक व्यवस्थापनको समस्या बढ्दै गएको छ । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्जिनियर बन्दना आचार्यले ती सबै स्थानका बत्ती मर्मत गरेपश्चात् ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिसकिएको बताउँदै भन्नुभयो, “हामीले मर्मत गरिदिइसक्यौँ । अब बाल्ने जिम्मा उहाँहरूको हो ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले औपचारिक रूपमा सडक विभागले आफूहरूलाई मर्मत गरिएका स्थानको बत्ती हस्तान्तरण नगरेको बताउनुभयो । “सडक विभाग, मर्मत गर्ने प्राविधिक र हामीले परीक्षण गर्दा कतिपयमा अझै समस्या देखिएको थियो”, उहाँले भन्नुभयो, “बत्ती नबल्ने समस्या भएपछि प्रहरीले बत्ती बालेनन् भन्न मिल्दैन ।” उपत्यकाभित्र दैनिक करिब १२ लाख सवारी साधन गुड्ने गरेको अनुमान छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?