logo
२०८१ मंसिर १२ बुधवार



बंगुर खोरमै मर्न थालेपछि सुरु गरियो निःशुल्क भ्याक्सिन

खुला |


बंगुर खोरमै मर्न थालेपछि सुरु गरियो निःशुल्क भ्याक्सिन
बंगुरमा भ्याक्सिन लगाउँदै पशु प्राविधिक । तस्विर -धीरेन्द्रप्रसाद साह



धीरेन्द्रप्रसाद साह
राजविराज, पुस ५ गते । अज्ञात रोग लागेर खोरमै बंगुर मर्न थालेपछि रुपनी गाउँपालिकाले बंगुरमा स्वाईन फिबरको निःशुल्क भ्याक्सिन लगाउन शुरु गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिकामा पछिल्लो एकसातादेखि फैलिएको रोगले दैनिक फर्ममै बंगुर मर्न थालेपछि गाउँपालिकाले भ्याक्सिन लगाउने सुरु गरिएको हो । बंगुरमा फैलिएको अज्ञात रोगले बंगुर मर्दा ठूलो क्षति हुनुको साथै माहामारीको हुने भयले स्वाईन फिबर रोगको भ्याक्सिन लगाउन सुरु गरिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष यादवले रोग परीक्षण गर्न प्रभावित क्षेत्रमा पशुस्वास्थ्यकर्मीले संक्रमित बंगुरको रगत र पोष्टमार्टम गरि लगिसकोले रिपोर्ट आउन साथ थप उपचारको ब्यवस्थाप गरिने बताउनुभयोे । पछिल्लो एकसातादेखि फैलिएको अज्ञात रोगले रुपनी गाउँपालिका ६ का कुलानन्द चौधरीको फार्ममा छ दर्जन बगुर मरेर लाखौंको क्षति भएको बताइएको छ ।
बंगुरको शरीरको तापाक्रम बढ्ने, काम्ने, मुखबाट ¥याल काढ्ने लक्षण देखिएको एक घण्टामै मर्ने गरेको बताइएको छ । यस्तो रोगबाट स्थानीय भद्र लामा, हुमा थापा मगर, अशोक तामाङ अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका सन्जमान तामाङ, सुबास राई, सरिता राई लगायतका बंगुर पालकका बंगुर मरेको बताइएका छन् । सो रोगले बंगुर मर्ने अझै नरोकिएको स्थानीय बृजमान तमाङले जानकारी दिनुभयो ।

सो क्षेत्रमा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र सप्तरी सिराहाले भ्याक्सिन उपलब्ध गराएको निःशुल्क भ्याक्सिन लागाउन कार्यमा खटिएका रुपनी गाउँपालिका पशुस्वास्थ्य शाखाका प्राविधिक शशी प्रसाद यादवले जानकारी दिनुभयो । बंगुर पालकको फार्म र घरमा गएर शुक्रबारदेखि निःशुल्क सेवा प्रदान गरिरहेको छ ।
यता उच्चस्तरीय टोलीले शुक्रबार रोग प्रभावित सो क्षेत्रको अनुगमन पनि गरेका छन् । पशुसेवा विभाग काठमाण्डौको बरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको टोलीले पीडितहरुको बंगुर फार्ममा पुगेर क्षतिबारे जानकारी लिएका छन् । टोलीमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरका प्रमुख डा. राकेश मोहन सिंह, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र सिराहा सप्तरीका प्रमुख फुलगेन यादव, पशुस्वास्थ्य प्राविधिक सत्यनारायण मण्डल लगायतका पशुस्वास्थ्य विज्ञहरुले अनुगमन तथा निरीक्षण गरेका छन । बंगुरमा फैलिएको रोगको बारे ल्याब परिक्षणको क्रममा रहेकोले रिपोर्ट आएपछि मात्र भन्न रोग बारे थाहा हुने उनीहरुले बताएका छन ।
रुपनी र अग्नीसाइर गाउँपालिका चार फर्मसहित घरेलु गरी पाँच सय भन्दा बढी बंगुर रहेकोमा हालसम्म एक सय भन्दा बढीको संख्यामा बंगुर मरेको स्थानीय बृजमान तमाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?