गोरखापत्र अनलाइन
काठमाडौं, पुस ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एकजना प्रहरी नायब निरीक्षक(सई)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालय, ढल्केवर–धनुषाको कार्यालय भवनको छेऊबाट दुबैजनालाई घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पक्राउ पर्ने सई कालिचरण पजियार इलाका प्रहरी कार्यालय, यज्ञभूमीमा कार्यरत रहेको बताउनुभयो । पजियारसँगै जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने विजयप्रसाद साहलाई समेत पक्राउ गरिएको छ । सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस वापत लिइसकेको अवस्थामा दुबैजनालाई आयोगको बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो । दुबैजनामाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।