गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ६ गते । गोरखापत्र संस्थानका कर्मचारीलाई एक दिवसीय सार्वजनिक खरिद प्रणाली विषयमा प्रशिक्षण दिइएको छ । खरिद प्रणालीका विज्ञ शङ्करकृष्ण श्रेष्ठले कर्मचारीलाई प्रशिक्षण दिनुभएको हो ।
प्रशिक्षणमा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य, विभिन्न विभाग, शाखाका प्रमुख तथा प्रतिनिधि गरी २२ जनाको सहभागिता थियो । प्रशिक्षक श्रेष्ठले योजना बनाउँदा कछुवाको गतिमा बनाउनुपर्ने तर कार्यान्वयन खरायोको गतिमा गर्नुपर्ने बताउनुभयो तर नेपालको परिस्थितिमा ठीक उल्टो भइरहेको उहाँले तर्क गर्नुभयो ।
सार्वजनिक खरिद ऐन २०६३ मा भएको प्रावधान तथा कार्यालयका लागि आवश्यक सामग्री खरिद गरिँदा गर्नुपर्ने प्रक्रिया र होसियारीबारे जानकारी गराउनुभएको थियो । कुनै पनि संस्था सफल हुन विभाग, शाखा तथा अन्य निकायबीचको समन्वय र समझदारी आवश्यक हुने र संस्थाका लागि निःस्वार्थ तथा इमानदारीपूर्वक काम गरे मात्र संस्था सफल हुने श्रेष्ठले सुझाव दिनुभयो ।
गुणस्तरीय सामानसँग सम्झौता गर्दा नै भ्रष्टाचारको सुरुआत हुने हुँदा कर्मचारीहरू त्यसमा सतर्क हुनुपर्ने श्रेष्ठले सुझाउनुभयो । संस्था सुधारका लागि नेतृत्वले लट्ठी लिएरभन्दा पनि प्रणाली बसाएर काम गर्न आवश्यक रहेको भन्दै उहाँले कर्मचारीहरू जिम्मेवार, कानुनप्रति जवाफदेही, उच्च नैतिक, पेसाप्रति निष्ठावान्, पारदर्शी र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले प्रशिक्षणले कर्मचारीको काममा चुस्तता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गोरखापत्र संस्थानको समस्याको समाधान कर्मचारी स्वयंले गर्नुपर्ने भएकाले आफूलाई समयानुकूल, प्रविधिमैत्री तथा प्रशिक्षित गर्न आवश्यक रहेको बताउनुभयो ।