धीरेन्द्रप्रसाद साह
राजविराज, पुस ६ गते । सप्तरीका एक विद्यालयका पूर्व विद्यार्थीले विगतमा चिसोमा भोगेका पीडालाई अहिलेसम्म बिर्सन सक्नुभएकाे छैन । शम्भुनाथ नगरपालिका – ६ निवासी इन्जिनियर
संजिवकुमार साहले प्राथमिक शिक्षा अध्ययन गर्दा भोगेको चिसो भुल्न सक्नुभएकाे छैन । चिसोबाट कोही पनि विद्यार्थीले सास्ती खेप्नु नपरोस् भनेर न्यानो कपडा वितरण गर्ने समाजसेवाको काममा उहाँ अहिले खट्नु भएकाे ।
चिसोमा न्यानो कपडाको अभावले विद्यालय आउन जान सहज नहुने भएकाले उहाँले आफू अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गर्नुभएको छ ।
साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आउनुभएका उहाँले प्राथमिक शिक्षा अध्ययन गर्नु भएको वार्ड नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभूत विद्यालयका तीनसय ४४ छात्रछात्रालाई एक थान निलाे स्वेटर वितरण गर्नुभयो ।
विद्यालयको प्राङ्गनमा आइतबार आयोजित ‘छात्रछात्रालाई न्यानो कपडा वितरण समारोह’मा शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीले वालविकासदेखि कक्षा आठका विद्यार्थीलाई स्वेटर वितरण गरेर ठूलो समाज सेवा गर्नुभएको भन्दै साहको प्रशंसा गर्नुभयो ।
न्यानो स्वेटर लगाउन पाएपछि विद्यार्थी निकै हर्षित भएका छन् ।