गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ९ गते । नेपालका ९० हजार नर्सको प्रतिनिधित्व गर्ने नेपाल नर्सिङ सङ्घको चुनावमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । बुधबार देशभरका २१ स्थानबाट हुने नर्सहरूको निर्वाचनमा दुई समूह आआफ्ना मुद्दा प्रस्तुत गर्दै निर्वाचनमा होमिएका हुन् ।
प्रगतिशील र पेसागत समूहका नर्सहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समूहबाट मनकुमारी राई अध्यक्षको प्रत्यासी हुनुहुन्छ भने पेसागत समूहबाट नर्सिङ सङ्घको निर्वाचनमा मुना राना थापाले अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको छ । नर्सिङ परिषद्मा ९० हजार नर्स दर्ता छन् ।
प्रगतिशील समूहबाट अध्यक्षकी प्रत्यासी राईले नेपालमा नर्सहरू अझै भोलेन्टिएर रूपमा काम गर्न बाध्य भएको भन्दै यस्तो प्रथा अन्त्य गर्ने बताउनुभयो । उहाँले निजी तथा संस्थागत अस्पतालमा सुत्केरी बिदा नपाइने गरेको भन्दै उनीहरूलाई सरकारीसरह सेवासुविधा र बिदा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
यता पेसागत समूहबाट अध्यक्ष पदका प्रत्यासी मुना राना थापाले आफूले युवा नर्सहरूलाई समेट्ने भन्दै आफ्नो समूहमा युवा नर्सलाई प्राथमिकता दिएको बताउनुभयो ।