प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका
परीक्षण प्रक्रिया
लोकसेवा आयोग एक स्वतन्त्र एवम् स्वायत्त संवैधानिक निकाय हो । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गर्न रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त सङ्कलन गर्ने, छानबिन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने, सिफारिस गर्नेजस्ता कार्य गर्दछ ।
लोकसेवाले यी कार्य नेपालको संविधान (२०७२), लोकसेवा आयोग ऐन–२०६६, लोकसेवा आयोग नियमावली–२०६७, लोकसेवा आयोग (कार्यसञ्चालन) निर्देशिका–२०६७ र लोकसेवा आयोगका पदाधिकारी एवम् दक्ष÷विज्ञ र कर्मचारीहरूको आचारसंहिता–२०६९ अनुसार गर्छ । नेपालको पछिल्लो संविधानले सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवालाई थप गरेको छ । यसै व्यवस्थाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय र नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, वायु सेवा निगम, गोरखापत्र संस्थानलगायतका सार्वजनिक संस्थानमा लोकसेवाले परीक्षा लिँदै आएको छ । लोकसेवाले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि आवश्यक पर्ने जनशक्ति आपूर्ति गरिरहन्छ । यसले आफ्नो कार्य व्यवस्थित गर्न वार्षिक कार्यतालिका बनाएर सोहीअनुरूप कार्य गर्दै आएको छ । आफूले गरेको दैनिक कार्यको सूचना प्रत्येक बुधबार साप्ताहिक रूपमा बुलेटिनमार्फत आफैँले प्रकाशन गर्ने र सोही सूचना प्रत्येक बुधबारको गोरखापत्रमार्फत जनसमक्ष ल्याउँदै आएको छ ।
लोकसेवाले गर्ने प्रायः सबै कार्य गोप्य रूपमा अति निष्पक्ष तवरले गर्दछ । यही भएर लोकसेवाप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढेको पाइन्छ । लोकसेवाले गर्ने कार्यमध्ये प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण अत्यन्त गोप्य हुन्छन् । यी कार्य लोकसेवाले सम्बन्धित विषयका विशेषज्ञबाट अति गोप्य तवरबाट गराउँछ । लोकसेवाले गर्ने यी कार्यको सबैलाई जानकारी नहुन सक्छ, त्यसैले यहाँ यी र यीसँग सम्बन्धित कार्यको चर्चा गर्ने प्रयास गरिएको छ ।
प्रश्नपत्रको निर्माण गर्ने
लोकसेवाले लिने परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा सम्बन्धित विषयका विशेषज्ञबाट गराइने व्यवस्था छ । प्रश्नपत्र निर्माण गर्दा एक विषयको सामान्यतयाः पाँच सेट प्रश्न पाँचजना विशेषज्ञबाट निर्माण गर्नुपर्ने हुन्छ । लोकसेवाले लिखित परीक्षामा वस्तुगत प्रश्न र विषयगत प्रश्न सोध्ने गर्दछ । वस्तुगत प्रश्न सोध्ने विषयमा ठीक, बेठीक छुट्याउने प्रश्न, जोडा मिलाउने र खाली ठाउँ भर्ने प्रश्न समावेश गर्छ । विषयगत प्रश्न सोध्ने विषयमा निम्न प्रश्न सोध्ने गरिन्छ ः
उम्मेदवारले आफ्ना मौलिक विचारहरू व्याख्यात्मक रूपमा व्यक्त गर्न पाउने वर्णनात्मक प्रश्न, उम्मेदवारले दुई धारणाको तुलना गर्दै जवाफ प्रस्तुत गर्नुपर्ने तुलनात्मक प्रश्न, कुनै कुराको पक्ष वा विपक्षमा आफ्नो विचार व्यक्त गरी कारण र पुष्ट्याइँ दिनुपर्ने प्रश्न, प्रश्नको जवाफमा उम्मेदवारले आफ्नो निजी धारणा प्रस्तुत गर्नुपर्ने अवसर दिई स्वतन्त्र विचार व्यक्त गर्नुपर्ने प्रश्न, कुनै घटना र वास्तविकतालाई पुष्टि गर्नका लागि कारण र असर उल्लेख गर्नुपर्ने प्रश्न, उम्मेदवारको बुझाइ एवम् प्रयोग गर्ने क्षमतालाई जाँच्न छोटो उत्तर आउने प्रश्न र समस्या समाधानसम्बन्धी प्रश्न सोध्ने गरिन्छ । लोकसेवाले विषयगत प्रश्न निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको व्यवस्था गरेको छ ।
संज्ञानात्मक तहअनुसार ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन तहका उपलब्धि जाँच्नेगरी प्रश्न निर्माण गर्नुपर्ने, विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्नुहुँदैन, प्रश्नसँगै आउने पूरक प्रश्नहरू एक–अर्कोसँग पूर्ण रूपमा सम्बन्धित हुनुपर्छ । उम्मेदवारको सिर्जनात्मक प्रतिभा, मौलिकता जाँच्ने र निर्दिष्ट गरिएको सेवा समूहको पाठ्यक्रम र सोको उद्देश्यलाई आधार मानी निर्धारण गरिएको समयभित्र उत्तर दिन सकिने प्रश्न समावेश गर्नुपर्छ । पाठ्यक्रमको सबै खण्डबाट प्रश्न निर्माण गर्नुपर्छ । आन्तरिक परीक्षामा व्यावहारिक पक्ष र खुला परीक्षामा सैद्धान्तिक पक्षमा केन्द्रित भई प्रश्न निर्माण गर्नुपर्छ । एउटै प्रश्नमा टुक्रे प्रश्न भएमा प्रत्येक टुक्रे प्रश्नको अङ्कभार छुट्याउनुपर्छ । पाँच अङ्कको प्रश्न निर्माण गर्दा उत्तरसमेत तयार गरी संलग्न गर्नुपर्छ । १० अङ्क वा सोभन्दा बढीको प्रश्न निर्माण गर्दा प्रश्नले अपेक्षा गरेको सम्भावित बुँदागत उत्तरको सारसङ्क्षेप विषयवस्तु के–के हुन्, सो संलग्न गरी कुन–कुन विषयवस्तु समेट्दा कति–कति अङ्क प्रदान गर्ने भन्ने कुरासमेत प्रस्ट छुट्याइ प्रश्नसाथ ‘आरकिङ् स्कीम’ संलग्न गरी पठाउनुपर्छ ।
उपसचिव र सहसचिवको समस्या समाधानको प्रश्न निर्माण गर्दा चारवटा विषय क्षेत्रहरूमा केन्द्रित रहेर उत्तर लेख्नुपर्ने हुँदा प्रत्येक चार विषय क्षेत्रमा के–के विषयवस्तु (उत्तर) समेटिनुपर्दछ, त्यसका सम्भावित बुँदाहरू उल्लेख गरी चारवटै विषय क्षेत्रको अङ्कभार विभाजनसमेत गर्नुपर्छ । जस्तै ः २० अङ्कभार भएकोमा चारवटामा ५+५+५+५ वा ४+६+४+६ आदि तरिकाले प्रश्नमै उल्लेख गरिदिनुपर्छ ।
प्रश्नपत्रको परिमार्जन गर्ने
विषय विशेषज्ञबाट निर्माण भइआएका प्रश्नहरूको परिमार्जन आवश्यकताअनुसार एक वा एकभन्दा बढी विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्रको परिमार्जन गर्दा सबै पाठ्यांशबाट समावेश गर्नुपर्ने र तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनुपर्छ । प्रश्न परिमार्जन गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । विवादास्पद तथा द्विविधायुक्त प्रश्न नराख्ने, पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराख्ने, सम्बन्धित पदको स्तरसँग मिल्ने प्रश्न राख्ने, एक सेट प्रश्नभित्र प्रश्न नदोहोरिनेगरी तयार गर्ने, एक विषयको तीन सेट प्रश्नहरू तयार गर्नेजस्ता कुरामा ध्यान दिनुपर्छ । प्रश्न परिमार्जन गर्दा प्रयोग गर्न अनुपयुक्त देखिएमा त्यस्ता प्रश्नहरू धुल्याउने व्यवस्था छ ।
प्रश्नपत्र भण्डारण गर्ने
परिमार्जन भएका प्रश्नपत्रहरू भण्डारण गर्न लोकसेवामा एउटा प्रश्नपत्र भण्डार हुन्छ । जुन आयोगको सचिवको रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुख (सहसचिव) को जिम्मामा रहन्छ । भण्डारणमा भएका प्रश्नपत्र समय–समयमा परिमार्जन गरी पुनःप्रयोग गर्न सकिन्छ ।
प्रश्नपत्रको छनोट गर्ने र छपाइ गर्ने
एउटा विषयको समानस्तरका तीन सेट प्रश्नपत्रमध्येबाट लिखित परीक्षामा प्रयोग गरिने प्रश्नपत्रको एक सेट आयोगको अध्यक्षबाट छनोट हुने गर्छ । अध्यक्षबाट छनोट भएको प्रश्नपत्रको छपाइ आयोगको केन्द्रीय कार्यालयमा सचिवले तोकेको कर्मचारी र आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयमा सम्बन्धित कार्यालय प्रमुखले आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहबरमा गर्नु गराउनुपर्ने व्यवस्था छ ।
लिखित परीक्षा लिने
प्रश्नपत्रको छनोट एवम् छपाइपछि उम्मेदवार छनोट गर्न लोकसेवाले लिखित परीक्षा सञ्चालन गर्छ ।
उत्तरपुस्तिकामा पहिलो सङ्केत (कोड) राख्ने
लिखित परीक्षा सम्पन्न भएपछि सबै परीक्षा केन्द्रको उत्तरपुस्तिकाहरू सङ्कलन गरेर सबै उत्तरपुस्तिकालाई तलमाथि पारी छासमिस गरेर पहिलो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड केन्द्रीय कार्यालयमा सम्बन्धित महाशाखा प्रमुखले र क्षेत्रीय तथा अञ्चल कार्यालयमा आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहबरमा सम्बन्धित कार्यालय प्रमुखले राख्ने व्यवस्था छ ।
उत्तरपुस्तिकामा दोस्रो सङ्केत (कोड) राख्ने
पहिलो कोड राखेका उत्तरपुस्तिकालाई तलमाथि पारी छासमिस गरेर आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले दोस्रो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड राख्दा कालो मसी र दोस्रो कोड राख्दा रातो मसी प्रयोग गर्ने व्यवस्था छ । उत्तरपुस्तिकामा राखेको पहिलो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको जिम्मामा र दोस्रो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको अध्यक्ष वा निजले तोकेको कर्मचारीको जिम्मामा रहने गर्दछ ।
उत्तरपुस्तिका परीक्षण गर्ने
लोकसेवाले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण सम्बन्धित विषयको विशेषज्ञबाट गराउने व्यवस्था छ । उत्तरपुस्तिका परीक्षण गर्न एक पोकालाई सामान्यतयाः २० दिनको समय दिने र तोकिएको समयभित्र उत्तरपुस्तिका परीक्षण गरी पठाएमा पारिश्रमिकमा २० प्रतिशत थप गर्ने व्यवस्था छ । सम्बन्धित विषय विशेषज्ञलाई उत्तरपुस्तिका परीक्षण गर्न पठाउँदा सम्बन्धित विषयको प्रश्नपत्र, उत्तरतालिका फाराम, विशेषज्ञले पालना गर्नुपर्ने सर्तहरू र राजपत्रअनङ्कित पदको गाइडलाइन संलग्न गरी गोप्य रूपमा बुझाउने व्यवस्था छ । उत्तरपुस्तिका परीक्षण गरेपछि परीक्षकले उत्तरतालिका फाराममा प्राप्ताङ्कलाई अङ्क र अक्षरमा उल्लेख गरी पठाउनुपर्छ । लोकसेवाले विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले परीक्षकले ध्यान दिनुपर्छ ।
वस्तुनिष्ठ रूपमा उत्तरपुस्तिका परीक्षण गर्नका लागि उत्तरपुस्तिकाको स्तर निर्धारण गरी उत्तरपुस्तिका परीक्षण आधार तालिकाअनुसार परीक्षण गर्नुपर्दछ ।
उत्तरपुस्तिकाको स्तर निर्धारण
अनुपयुक्त ः ४० प्रतिशतभन्दा कम
साधारण स्तर ः ४० वा सो भन्दामाथि ४५ प्रतिशतसम्म
मध्यमस्तर ः ४५ देखि माथि ५० प्रतिशतसम्म
उच्चस्तर ः ५० देखि माथि ६० प्रतिशतसम्म
अति उच्चस्तर ः ६० प्रतिशतदेखि माथि
विषयगत पत्रमा कुनै परीक्षार्थीले अति उच्चस्तरको अङ्क प्राप्त गर्ने देखिएमा त्यसका कारण खुलाउनुपर्दछ । एउटै प्रश्नमा टुक्रे प्रश्नहरू भए प्रत्येक टुक्रे प्रश्नका लागि छुट्याइएको आरकिङ स्कीमअनुुसार अङ्क दिई परीक्षण गर्नुपर्दछ । परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा उच्च अङ्क प्राप्त गर्ने १० प्रतिशत उत्तरपुस्तिकाहरूको पुनः परीक्षण गर्नुपर्दछ । परीक्षणकर्ताको कुनै नातेदारले सो परीक्षा दिएको भए उत्तरपुस्तिका परीक्षण नगरी सिलबन्दी रूपमा नै फिर्ता गर्नुपर्दछ । विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा विषयज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्ति, मौलिकता, समालोचना तथा आलोचनात्मक शक्ति, प्रस्तुतीकरण, शुद्धाशुद्धि तथा सफाइलाई ध्यान दिई परीक्षण गर्नुपर्दछ । उत्तरपुस्तिका परीक्षण गर्दा लोकसेवाले उपलब्ध गराएको अङ्क योजनाअनुसार परीक्षण गर्नुपर्दछ । उत्तरले अपेक्षा गरेका बुँदाहरूलाई परीक्षण गर्नुपूर्व सूचीकृत गरी तिनीहरूको अङ्कभार सुनिश्चित गर्नुपर्दछ । एक सिटिङमा कति उत्तरपुस्तिका परीक्षण गर्ने हो, सोको पहिल्यै यकिन गर्ने र उत्तरपुस्तिका परीक्षण गर्दा रातो मसी प्रयोग गरी सकभर उत्तरपुस्तिकाको देब्रेपट्टि किनारामा अङ्क प्रदान गर्नुपर्दछ ।
उत्तरपुस्तिका रुजु गर्ने
विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका आयोगमा रुजु गरिराख्ने व्यवस्था छ । उत्तरपुस्तिका रुजु गर्दा उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्क दिइएको छ छैन, परीक्षकले दिएका सबै अङ्कहरू ठीकसँग जोडिएको छ छैन भनि रुजु गर्नुपर्छ ।
उत्तरपुस्तिकाको सम्परीक्षण गर्ने
लोकसेवाले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्छ । उत्तरपुस्तिका सम्परीक्षण गर्दा विशेषज्ञले पालना गर्नुपर्ने सर्तहरू पालना नगरेको पाइएमा त्यस्ता उत्तरपुस्तिका लोकसेवाले पुनःपरीक्षण गराउन सक्छ । तर, लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि लोकसेवाले उत्तरपुस्तिकाको पुनः परीक्षण गराउँदैन ।
लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने
उत्तरपुस्तिकाको परीक्षण, रुजु एवम् आवश्यकताअनुसार सम्परीक्षण तथा पुनः परीक्षणपश्चात् लोकसेवाले उम्मेदवारको वर्णानुक्रमअनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्दछ ।
पुनर्योगको व्यवस्था
लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गर्न लिखित परीक्षामा तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर तिरेर लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र लोकसेवाको सम्बन्धित कार्यालयमा निवेदन दिन सक्छ । पुनर्योगका लागि यसरी निवेदन आएमा लोकसेवाले पुनर्योग गरी निवेदकलाई सोको नतिजा जानकारी गराउँछ ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा