राजन रावत
सिमकोट, पुस १४ गते । पहिले लहैलहैमा बालबिबाह गरेका हुम्लाका किशोरीले सानै उमेरमा बिबाह गरेकोमा पश्चाताप गर्न थालेका छन् । अध्ययन छुटेको महशुस हुँदा र आफुसँगैका बालबिबाह नगरेकाले साथीसङ्गीहरु प्रगति गरेको देख्दा उहाँहरुलाई पश्चाताप भएको हो ।
१६ वर्षको उमेरमा बिबाह गरेर एकवर्षपछि बच्चा जन्माउनु भएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर २ रिपकी फुलमाया परियारलाई अहिले सानै उमेरमा बिबाह गरेकोमा निक्कै पश्चाताप भएको छ । कक्षा नौ मा अध्ययन गरिरहेको अवस्थामा बिबाह गर्नुभएकी परियारले बिबाह गरेको छ महिनापछि विद्यालय जान छोड्नभयो । उहाँका अनुसार त्यतिबेला साथीसङ्गीको लहैलहैमा लागेर बालबिबाह गरिएकोमा अहिले पश्चाताप भईरहेको छ । बीस वर्षको उमेरमा उहाँले दुईवटा बच्चा जन्माउनुभयो ।
उहाँसँगै अध्ययन गर्ने साथीले अहिले कक्षा १२ उर्तीण गरेर एउटा गैरसरकारी संस्थाको सहजकर्ताको काम गरिरहेको देख्दा भने उहाँलाई मन पोल्ने गरेको छ । सानैमा बिबाह गरेको कारण उहाँको स्वास्थ्य पनि ठिक नभएको र महिनै पिच्छे स्वास्थ्य चौकीमा उपचारका लागि धाईरहनु परेको परियारले बताउनुभयो ।
यता, रिपगाउँकै विश्व बिकले पनि १५ वर्षको उमेरमा बिबाह गरेर एकपछि बच्चा जन्माउनु भएको थियो । दुई बच्चाकी आमा बिकले कक्षा आठमा अध्ययन गर्दै गर्दा बिबाह गरेको र त्यस लगत्तै पढाई छोडेको बताउँदै उहाँले अहिले अरुलाई हेर्दा निक्कै पश्चाताप भैरहेको बताउनुभयो । अहिले नितान्त गृहणी जीवन बिताई रहुनभएकी उहाँलाई पाठेघरको समस्या रहेको छ । अब पश्चाताप गर्नु भन्दा अन्य विकल्प नभएको उहाँले बताउनुभयो ।
परियार र बिक रिप गाउँकी बालबिबाह गरे पश्चापात गर्ने ‘नमूना किशोरी’ हुनुहुन्छ । गत वर्ष मात्र उक्त गाउँमा आठजना किशोरीले बालबिबाह गर्नुभएको थियो । यसपाली ती सबै किशोरी गर्भवती अवस्थामा रहेका छन् । कानूनमा बिबाहको उमेर २० वर्ष भएपछि पनि रिप गाउँमा बालबिबाहको संख्या सतप्रतिशत वृद्धि भएको स्थानीयले गुनासो गर्ने गरेका छन् ।