अमर नहर्की
तनहुँ, पुस १७ गते । तनहुँमा प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित तीन जना युवा पक्राउ गरेको छ ।
आँबुखैरेनी गाउँपालिका ३ स्थित ठाडो लाइनबाट मङ्गलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी गाउँपालिका ३ बस्ने २२ वर्षीय उमेश खड्का, सोही ठाउँका २६ वर्षीय उत्सव खड्का र गोरखा पालुङटार नगरपालिका– ८ घर भइ हाल आँबुखैरेनी गाउँपालिका– ३ नै बस्ने २२ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिनुभयो । खड्काले अवैध रुपमा लागू औषध लुकाइ छिपाइ राखेर बिक्री गर्दै आएको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा फेला पारिएको उहाँले जानकारी दिनुभयो ।
कोठाबाट डाइजेपाम १४ सिसी, फेनारागन १४ सिसी, नुफिन १४ सिसी, ट्रामा लेखेको ट्याब्लेट १ हजार ५ सय ३५ थान र डिकफ लेखेको ट्याब्लेट १ हजार ६ सय ७२ थान, ५ थान मोवाइल सेट र ३२ हजार ५० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना बिरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।