गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिनसम्म पहाडी र तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले हिमाली भू भागका अधिकांश स्थानहरुमा शुक्रबार मध्यमदेखि भारी हिमपात हुने अनुमान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा प्रकाशित गर्दै आएको मौसम पूर्वानुमानको अवस्थामा यस्तो प्रक्षेपण गरेको हो । महाशाखाका अनुसार बिहीबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ । बिहीबार राति पनि सामान्य बदली भई वर्षा हुने अनुमान गरिएको छ ।
त्यसैगरी, महाशाखाका अनुसार शुक्रबार उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुनेछ । पहाडी तथा तराईका केही स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार भारी हिमपात हुने अनुमान गरिए पनि शनिबार भने हिमाली भूभागमा हिमपात मध्यम वा हल्का हुने विभागले पूर्वानुमान गरेको छ । वर्षासँगै चिसो यथावत रहने विभागले जनाएको छ ।