सुरेन्द्र खत्री
रुकुम (पश्चिम), पुस २० गते । त्रिवेणी गाउँपालिका –४ दल्लुगैरामा शनिवार राती ट्याक्टर पल्टिँदा आठ कक्षामा अध्ययनरत विद्यार्थी दलबहादुर विकको मृत्यु भएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर फर्कने क्रममा बिद्यार्थी चढेको लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा थप १६ विद्यार्थी सहित २० जना घाइते भएका छन् ।
राति करिब ९ बजे विद्यार्थी चढेको उक्त ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको थियो । मृत्यु भएका विक त्रिवेणी गाउँपालिका –५ स्थित विद्या विकास माविका विद्यार्थी रहेको बताइएको छ ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलेर फर्किने क्रममा उक्त विद्यालयका साथै वडा नम्वर ४ स्थित अन्धनाशक माविका विद्यार्थी चढेका थिए । ट्याक्टर चालक गणेश परियार फरार भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उक्त शिल्डमा बाजा बजाउन गएका ४ जना स्थानीय पनि घाइते भएका छन् ।
घाइतेमध्ये ३ विद्यार्थी र एक जना स्थानीयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी गाउँपालिका –२ स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ७ स्थित साधारण मावि मुरुडाँडामा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरेको थियो ।