गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी स्वामित्वको जग्गामा किर्ते मोही कायम गुठी संस्थान, जनकपुरका तात्कालीन कार्यालय प्रमुखसहित छजनाले ८९ लाख रुपियाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । छ जनैमाथि आयोगले सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गुठीको स्वामित्व रहेको धनुषाको साबिक भरतपुर गाविसको जग्गामा किर्ते मोही खडा गर्ने तात्कालीन प्रमुख राजबाबु पाण्डे, लेखापाल मनोजकुमार शर्मा, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, बिचौलिया सुमनकान्त ठाकुर र मोहीहरु शत्रुध्न जयसवाल र गायत्रीदेवी जयसवालमाथि सजायको माग गरिएको हो । नेपाली सेनाको गण स्थापनाका लागि अधिग्रहण गरिएको जग्गामा पाँचैजनाले किर्ते मोही गरी नेपाल सरकारबाट करीब ८९ लाख रुपियाँ बुझेको हो ।
मोही शत्रुध्न जयसवाल र गायत्री देवी जयसवालले उक्त जग्गाको मोही दाबी गर्दै गुठी संस्थान, जनकपुर कार्यालयबाट २०६९ साल जेठ १६ गते र अषाढ २७ गते गरी दुई पटकमा ८९ लाख रुपियाँ बुझेको अनुसन्धानबाट खुलेको छ । कार्यालय प्रमुख पाण्डेले घुसवापत् १९ लाख तीस हजार र लेखापाल मनोजकुमार शर्माले छ लाख ५० हजार रुपियाँ बुझेकोमा दुबैजनामाथि घुस वापत्को रुपियाँ बराबरको बिगो कायम गरी सजायको माग गरिएको प्रवक्ता कोइरालाले बताउनुभएको छ । वरिष्ठ लेखा सहायक भुसालमाथि चार लाख ३० हजार रुपियाँ बिगो कायम गरिएको छ ।
त्यसैगरी, मोही दाबीमा बिचौलियाको भूमिका निर्वाह गरेका ठाकुरमाथि ६३ लाख ३६ हजार ६६७ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको छ । मोही शत्रुध्न जयसवालमाथि सात लाख ३५ हजार र गायत्री देवी जयसवालमाथि ५६ लाख एक हजार ६६७ रुपियाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको कोइरालाले जानकारी दिनुभयो ।