कैलाश लामा
चरिकोट दोलखा, पुस २० गते । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने दोलखाको गौरीशंकर गाउँपालिकास्थित प्रसिद्ध च्छोरोल्पा हिमतालमा दुर्लभ हिउँ चितुवा देखा परेको छ । गाउँपालिकाको वडा नम्बर–९ स्थित रोल्वालिङ उपत्यकामा संचालित क्यामेरा ट्रयापिङबाट उक्त उपत्यकाको प्रसिद्ध च्छो–रोल्पा हिमताल क्षेत्रमा हिउँ चितुवा रहेको प्रमाण फेला परेको हो ।
स्वचालित क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ साल असार १५ गते, भदौ २२ गते र भदौ २६ गते गरि तीन पटक वयस्क हिउँ चितुवाको तस्बिर खिचेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।
उहाँले एउटै हिउँचितुवा दुई वा दुई भन्दा बढि समय एकै स्थानमा देखिनुले उक्त स्थानलाई हिँउचितुवाले खाइखेली हिड्ने ठाउँको रुपमा प्रयोग गरेको हुन सक्ने बताउनुभयो ।
आइतबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै आयोजना प्रमुख शाहले समुद्री सतहबाट छ हजार ५३६ मिटर माथि हिउँ चितुवाको तस्बिर स्वचालित क्यामेराले तीन पटक खिचिएको बताउनुभयो ।
संरक्षण क्षेत्रले यासअघि गत जेठमा पनि विगु गाउँपालिकाको लप्ची उपत्यकामा हिउँ चितुवा देखा परेको तस्बिर रार्वजनिक गरेका थिए । उक्त तस्बिरमा हिउँचितुवाको टाउको तर्फको आधा भागमात्रै देखिएको थियो भने सयपट पुरै शरिर देखिने फोटो क्यामेरामा कैद भएको छ । च्छोरोल्पा हिमताल नजिकैको पहाडमा राखिएको स्वचालित क्यामरामा पुरै शरिरको हिउँ चितुवाको तस्बिर कैद भएको छ ।
गौरीशंकर क्षेत्र आयोजनका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डे सहितको टोलिले गत जेठदेखि जडान गरिएको क्यामेरामा हिउँ चितुवा फेला परेको स्थानमा चौरीहरुको आवतजावत, ब्वाँसो, रातो फ्याउरो, लिँडेमुसा जस्ता जनावरहरु समेतको आवतजावतलाई कैद गरेको छ।
क्यमेरामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा रहेको २७ प्रजाति मध्ये सात प्रजातिका जनावर गौरीशंकर संरक्षण क्षेत्रको रोल्वालिङ उपत्यकामा देखापरेको छ ।
हिमाली क्षेत्रको जैविक विविधता अध्ययनको लागि संचालन गरिएको क्यामेर ट्रयापिङबाट हिउँचितुवा, ब्वाँसो, रेड पाण्डा, (हाब्रे) कस्तुरीमृग, डाँफे, मुनाल र आसामी रातो बाँदर गरि सात वटा संरक्षित जनावर देखा परेको हो ।
दोलखाको प्रमुख पर्यटकीय स्थल रोल्वालिङ उपत्यका वन्यजन्तु, प्राकृतिक झारना, हिमनदी, हिमताल तथा पर्वतारोहण अभ्यासको लागि प्रसिद्ध छ । बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको यो उपत्यकामा मांशजन्य पदार्थको उत्पादन, बिक्रीबितरण तथा उपभोग गर्न पूर्णतः बन्देज रहेको हुनाले पनि यो क्षेत्र वन्यजन्तु संरक्षणको लागि अनुकुल रहेको गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ ।