देबबहादुर कुँबर
काठमाडौँ, पुस २० गते । सवारी धनी तथा चालककोे सामान्य लापरवाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढंगले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एकसयदेखि एकसय २० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ ।
मोटरसाइकल चोरी तथा हराउनुमा सवारीधनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्किङ, व्यस्तताका नाममा साधनप्रतिको वेवास्ता र ह्याण्डिल लक नगर्ने जस्ता गल्तीले मोटरसाइकल चोरी हुने गरेको छ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मोटरसाइकल तथा स्कुटर चोरीमा संगठित गिरोह नै सक्रिय भएकाले सवारी धनी तथा चालकहरू स्वयम् सचेत हुनुपर्ने बताउनुहुन्छ । विभिन्न स्थानबाट फेला परेका २० वटा मोटरसाइकल सोमवार सवारी धनीलाई जिम्म लगाइएको छ ।
पाँचवर्षअघि चोरी भएको मोटरसाइकल फेला पर्दा सवारी धनीहरू खुशी देखिन्थे । चोरीका मोटरसाइकलको नम्बर प्लेट र स्वरुप परिवर्तन गरिने भएकाले झट्ट हेर्दा ट्राफिक प्रहरीले समेत पत्ता लगाउन सक्दैनन् ।
तर, नियमित सुरक्षा चेकजाँचका क्रममा ब्लुबुक (सवारीधनी) पत्र माग्दा घरमा छुट्यो लिएर आउछु भन्दै चोर चालकहरू मोटरसाइकल ट्राफिक प्रहरीसंगै सडकमा छोडेर भाग्न सफल हुन्छन । महाशाखा प्रमुख ढकालका अनुसार, यसरी अलपत्र छोडिएका मोटरसाइकल चोरीका हुन्छन ।
यो आर्थिक वर्षको साउनदेखि हालसम्म दुईसय ११ वटा चोरीका मोटरसाइलहरू बरामद भएका छन् । तर, पक्राउ पर्ने अभियुक्त २३ जना छन् । चोरीका मोटरसाइकलको तुलनामा अभियुक्तहरू फेला नपर्दा पीडितहरू खिन्न हुने गरेका छन् ।
‘मलाई त मोटरसाइकलसंगै चोर पक्राउ परेको भए सन्तुष्टि मिल्थ्यो’ बा ७३ प ४२२७ नम्वरको मोटरसाइकलका धनी रूपेश मल्लले गोरखापत्रसंग भन्नुभयो । सो मोटरसाइकल दुईवर्षअघि बसुन्धराबाट चोरी भएको थियो ।
ह्याण्डिल ‘लक’ फुटाएर चोरी
एकान्तस्थान तथा मोटरसाइकलको बाक्लो अब्यवस्थित पार्किङस्थलबाट बढी चोरी हुने गरेको छ । ह्याडिल लक गरेको भए पनि मार्तल (पेजकस) को तिखिरो चुच्चोबाट लक खोल्नका साथै मोटरसाइकल समेत ‘स्टार्ट’ गरेको पाइएको छ ।
प्रहरीका अनुसार चोरीका मोटरसाइकलको मुख्यवजार काठमाडौँ उपत्यकासंग जोडिएका छिमेकी जिल्लाको दुर्गम ग्रामीण बस्ती हो । काठमाडौँमा विक्री वितरण हुन नसकेको मोटरसाइकल वाहिर लैजाने गर्छन ।
चोर्नेदेखि विक्रीसम्म ‘नेटवर्क’
मोटरसाइकल चोरीमा छुट्टा–छुट्टै समूह (नेटवर्क) संलग्न हुने गरेको छ । पहिलो समूहले चोर्ने, दोस्रोले ढुवानी र तेस्रोले विक्री गर्ने गर्छ । चोरीका मोटरसाइकल सस्तो मूल्यमा विक्री हुन्छन् । कतिपय अवस्थामा मोटरसाइकल खोलखाल गरी पार्टपूर्जा बिक्री हुन्छ ।
राजधानीका भृकुटीमण्डप, ठमेल, महाराजगन्ज, बुढानिलकण्ड, चावहिल, बौद्ध, टुसाल, नयाँबस्ती, पुतलीसडक र गणेशस्थान लगायतका क्षेत्रमा मोटरसाइकल चोरहरू नियमित रुपमा पिछा गरिरहेका हुन्छन ।
सवारी धनी वा चालक ढिलो गरी आएमा वा सहज अवस्था पाएमा मोटरसाइकल चोरी गरी नजिकै लुकाउछन् । दोस्रो समूह लुकाएको मोटरसाइकल विक्रीका लागि लैजान्छ । तेस्रो समूहले उपत्यकाभित्र वा वाहिर पठाउने वारे मेलोमेसो मिलाउने गरेको पाइएको छ ।
फितलो कानुन
मोटरसाइकल चोरी मुद्धामा फितलो कानुनी व्यवस्था रहेको छ । अभियुक्तहरू १० हजारदेखि एकलाख धरौटिमा छुट्ने भएकाले प्रायः मोटरसाइकल चोरीले पेशा परिवर्तन गर्दैन्न । एक महिनामा तीनदेखि पाँचवटासम्म मोटरसाइकल चोरी गरी पाँच लाख कमाउन उद्धत हुन्छन ।
अभियुक्त चोरीको मोटरसाइकल सहित रंगेहात पक्राउ पर्ने सम्भावना कम हुने भएकाले कानुनी रुपमा सहजै उम्कीने गरेको भनाई प्रहरीको छ । त्यस्तै, मोटरसाइकलको पार्टपूर्जा नै विक्री गर्ने भएकाले प्रमाण जुटाउन समेत समस्या हुने गरेको छ ।
ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठ चालक तथा सवारी धनी नै सतर्क र सचेत हुनु पर्ने बताउनुहुन्छ । आफ्नो सवारी साधन पार्किङ गर्नेदेखि डबल ‘लक’ गर्ने, नियमित झड्के हेर्ने र व्यवस्थित पार्किङक्षेत्रमा पार्किङ गर्नुपर्छ ।