गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २२ गते । शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुनअन्तर्गत बुधबारसम्म फिर्ता (डिपोर्ट) गर्ने तयारी भइरहेको छ ।
अध्यागमन विभागका अनुसार राहदानी नभएका ९२ जनाको नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा ट्राभल्स डकुमेन्ट (टीडी) तयारी पार्ने कार्य जारी छ । सम्भवतः मङ्गलबार साँझसम्ममा टीडी बनाउने कार्य सम्पन्न हुनेछ । पक्राउ परेकामध्ये ३० जनासँंग मात्र राहदानी फेला परेको थियो । बाँकीले नेपालमै लुकिछिपी बस्न राहदानी च्यातेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ । चिनियाँ नागरिक बस्दै आएको घरमा छापा मार्ने क्रममा प्रहरीले ९० वटाभन्दा बढी राहदानी बरामद गरेको थियो ।
बरामद राहदानीमध्ये ३० जनाको पहिचान खुले पनि बाँकी राहदानी बेवारिसे अवस्थामा भेटिएका हुन् । ती राहदानीवाहक चिनियाँ नागरिक भागेको हुनसक्ने भनाइ महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंँको संयुक्त प्रहरी टोलीले यही पुस ७ गते काठमाडौँको विभिन्न स्थानबाट चिनिया नागरिकलाई पक्राउ गरेको थियो ।
पक्राउ चिनियाँ नागरिकविरुद्ध दायर अभद्र व्यवहार मुद्दाअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौँबाट जनही एक हजार रुपियाँ धरौटी जमानतमा छुटेका थिए । जिप्रकाले छोड्ने आदेश दिए पनि अध्यागमन कानुनअन्तर्गत थप कारबाही सुरु गरिएको हो । प्रहरी हिरासतमा रहेका चिनियाँ नागरिकलाई फिर्ता लैजान हवाई व्यवस्था चिनियाँ सरकारले नै गर्नेछ । ती चिनियाँ नागरिकलाई दुई समूहमा बाँडेर चीन फिर्ता लैजाने तयारी भइरहेको अध्यागमन स्रोतले जनाएको छ ।