logo
२०८१ मंसिर १३ बिहीवार



उपत्यकाका अस्पतालमा बिरामीको चाप

खुला |


उपत्यकाका अस्पतालमा बिरामीको चाप


सरोज ढुङ्गेल

काठमाडौँ, पुस २२ गते । जाडो बढेसँगै उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । देशव्यापी रूपमा मौसममा आएको परिवर्तनले केन्द्रीय अस्पतालमा बिरामीको चाप बढेको हो ।
उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल लगायतमा चिसो मौसमले हुने रोगका बिरामीहरूको चाप सामान्यभन्दा २५ प्रतिशतले बढेको छ ।
उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा तापक्रम घटेपछि निमोनिया, ब्रोनकाइटिक्स, छालाको समस्या, झाडापखाला, सीओपीडी, मुटुसम्बन्धी, धुलो धुवाँको कारणले हुने एलर्जी, रुघाखोकी, बाथ लगायत रोगका बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जाडोबाट बढी असर गर्ने रोगका कारण अस्पताल आउने बिरामीको सङ्ख्या २५ प्रतिशतले बढेको जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा रुघाखोकी, जाडो मौसमका कारण लाग्ने दम, निमोनिया, ब्रोनकाइटिक्स, झाडापखाला लगायतका बिरामी अस्पतालमा आउने गरेको बत(ाउनुभयो । रुघाखोकी, निमोनिया, ब्रोनकाइटिक्स, छालाको समस्याबाट हुने बिरामीको सङ्ख्या बढेको भन्दै उहाँले सामान्य अवस्थाभन्दा ती रोगबाट अस्पताल आउने बिरामी २५ प्रतिशतसम्म वृद्धि भएको जानकारी दिनुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले अस्पतालमा दैनिक ओपीडीमा मात्र तीन सय बिरामी आउने गरेको जानकारी दिनुभयो । तीमध्ये अधिकांश बिरामी निमोनिया र झाडापखालाको समस्या लिएर आउने गरेको बताउँदै उहाँले अस्पतालमा आउने बिरामीमध्ये दैनिक २५ देखि ३० जनालाई अस्पतालमै भर्ना गरेर राख्नुपरेको बताउनुभयो । यस्तै आकस्मिक कक्षमा दैनिक एक सय बिरामी आउने गरेकोमा १० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको जानकारी दिनुभयो ।
उहाँले गर्मी मौसमभन्दा जाडो मौसममा बिरामीको सङ्ख्या कम भए पनि चिसो मौसमका कारणबाट हुने बिरामीको सङ्ख्या भने अत्यधिक बढेको जानकारी गराउनुभयो । बच्चा तथा वृद्धहरू चिसो मौसमबाट लाग्ने रोगको शिकार हुने गरेको चर्चा गर्दै उहाँले त्यसबाट बच्नुपर्ने बताउनुभयो ।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा दम तथा स्वासप्रश्वासको समस्या लिएर बिरामीहरू आउने गरेको जानकारी दिनुभयो । उहाँले दाउरा बाल्दा त्यसबाट निस्कने धुवाँले स्वासप्रश्वाससम्बन्धी रोग भएर अस्पताल आउने बिरामी पनि बढेको जानकारी दिँदै यी बाहेक रुघाखोकी तथा झाडापखाला समस्या भएका बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।
परोपकार तथा प्रसूति अस्पताल थापाथलीका निर्देशक प्राडा जागेश्वर गौतमले अधिकांश नवजात शिशु तथा आमाहरू अत्यधिक चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्यु हुने भन्दै त्यसबाट बच्न शिशु र सुत्केरीलाई न्यानोमा राख्नुपर्ने बताउनुभयो । जाडोमा बच्न चिसोमा ननिस्कन, न्यानो कपडा लगाउन र बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न चिकित्सकले सुझाव दिएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?