गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना वन अधिकृत र अर्का नापी सर्वेक्षकलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । वन कार्यालय, बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहले घुस लिदा अख्तियारको नियन्त्रणमा परेका हुन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अधिकृत साहले काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको जानकारी दिनुभयो । त्यसैगरी, आयोगले नापी कार्यालय, वीरगंज, पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
सर्वेक्षक पासवानले ७५ हजार रुपियाँ घुस लिएको आयोगले दाबी गरेको छ । जग्गा हालसाबिक गरी पुनः नापीको जग्गाधनी प्रमाणपत्र पूर्जा बनाइदिने नाममा पासवानले सेवाग्राहीसँग उक्त रुपियाँ घुस लिएको आयोगले जनाएको छ । पासवानलाई घुस लिइरहँदा नापी कार्यालय, वीरगंज अन्तगर्तको २ नं. नापी टोलीको कार्यालयबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो ।