शिवशंङ्कर मिश्र
बारा, पुस २२ गते । बारा जिल्लामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका अभियुक्तलाई स्थानीय प्रहरीले पक्राउ गर्ने क्रमले तिव्रता पाएपछि अभियुक्त अब आफै अदालतमा हाजिर हुन थालेका छन् । पक्राउ पर्दा सामाजिक प्रतिष्ठामा आँच आउने ठानेर उनीहरु सुटुक्क अदालतमा हाजिर हुन थालेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न सम्बन्धित अदालतको निर्देशन अनुसार बारामा प्रहरीले फरार सूचीमा रहेका दोषीलाई पक्रन सक्रियता बढाएको छ ।
अदालतले पक्राउ परेका अभियुक्तहरुलाई कसुर बमोजिम कैद भुक्तान गर्न वीरगंज कारागार पठाउने र जरिवाना असुली गर्दै आएको छ । फरार अभियुक्तहरुलाई पक्राउ गर्न थालिए पछि गम्भीर प्रकृतिका अपराधदेखि लेनदेन सम्मका दोषी आफैं आएर जरिवाना तिर्नुका साथै सजाय भुक्तान गर्न थालेको बारा जिल्ला अदालतले जनाएको छ ।
प्रहरीले समातेमा प्रतिष्ठा जाने मनोविज्ञानले उनीहरु आफै कैद सजाय र जरिवाना भुक्तान गर्न दैनिक पाँच देखि सात जना बारा जिल्ला अदालतमा हाजिर हुन आई रहेको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताउनुभयो ।
विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, दलका कार्यकर्ता लगायतलाई पक्राउ गरी अदालत ल्याउन थालिएपछि अरु त्यस्ता व्यक्ति समेत आफैं आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइ रहेको ज्ञवालीले बताउनुभयो ।
केही दिन अधि मात्र बिश्रामपुर गाउँपालिका प्रमुख अमिरिलाल भेडिहर सवारी ज्यान मुद्दामा पक्राउपरी कैद जीवन बिताई रहेको पनि उहाँले बताउनुभयो । यसरी तीन महिना यता झन्डै डेढ सय जना बढीलाई प्रहरीले पक्राउ गरी ल्याएको छ भने ६० भन्दा बढी व्यक्ति आफै सम्पर्कमा आएका उहाँले जानकारी दिनुभयो ।