logo
२०८१ मंसिर १३ बिहीवार



मौसमको खराबीले पहाडी र हिमाली जिल्लामा हवाई उडान बन्द

काठमाण्डौका उडान भने सुचारु

खुला |


मौसमको खराबीले पहाडी र हिमाली जिल्लामा हवाई उडान बन्द


सिराजुद्दिन खान
नेपालगञ्ज, पुस २२ गते । मौसमको खराबीले गर्दा मंगलबार नेपालगञ्जको राँझा विमानस्थलबाट यस क्षेत्रका पहाडी र हिमाली जिल्लामा हुने हवाई उडान बन्द गरिएको छ ।

मंगलबार विहानैदेखि जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङमा मौसम खराब भएको कारण ती स्थानका लागि हुने सबै हवाई उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
सोमबार ती सबै जिल्लामा उडान गरिए पनि मंगलबार भने फेरि एक्कासी मौसम बिग्रिएकाले यस क्षेत्रका कुनै पनि पहाडी र हिमाली जिल्लाहरुमा उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर (एटीसी) कैलाश शर्माले बताउनुभयो ।

उहाँले हिमाली र पहाडी जिल्लाको मौसम फेरि बिग्रिएको र विहान नेपालगञ्जको पनि मौसम खराब रहेको हुँदा उडान गर्न नसकिएको बताउनुभयो ।
पहाडी र हिमाली जिल्लाहरुमा विहान मात्रै उडान गर्न सम्भव हुने गरेको जनाउँदै एटीसी शर्माले मंगलबार विहान सबैतिर मौसम खराब रहेकोले उडान नगरिएको बताउनुभयो ।
केही दिनयता यस क्षेत्रका पहाडी र हिमाली जिल्लाहरुमा कुनै दिन उडान हुने र कुनै दिन नहुने तथा कहिले केही मात्र उडान हुने अनि अरु बन्द हुने हुँदा सो क्षेत्रका यात्रुलाई समस्या भैरहेको छ ।
विशेषगरी सिकिस्त बिरामी र आवश्यक कामले आवागमन गर्नेलाई बढी समस्या भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । मौसम सफा हुने वित्तिकै पहाडी जिल्लालाई प्रमुख प्राथमिकताका साथ उडान गराई रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।

नेपालगञ्ज–काठमाण्डौ उडान सुचारु

नेपालगञ्जबाट काठमाण्डौका लागि भैरहेको उडानमा मंगलबार कुनै समस्या नआएको विमानस्थलले जनाएको छ ।
काठमाण्डौका लागि भने विहानैदेखि उडानहरु नियमित रुपमा सुचारु रहेको जनाउँदै दिउँसोपछि नेपालगञ्जको मौसम अलि खराब भए पनि उडानमा समस्या नआउने एटीसी शर्माले बताउनुभयो ।
नेपालगञ्जबाट काठमाण्डौका लागि यति, बुद्ध र श्री एअर लाइन्सका विहानका सबै उडान समयमै भएको र दिउँसो श्री को विमान पनि आएर गएको उहाँले जनाउनु भयो ।
विमानस्थलमा आवश्यक भिजिविलिटी रहेकाले काठमाण्डौ उडानमा समस्या नआउने शर्माको भनाइ छ ।

मौसमको खराबीले गर्दा पहाडी र हिमाली जिल्लाका उडान केही दिनयता अनियमित रहँदै आएकाले ती जिल्लाका अधिकांश यात्रु समस्यामा परेका छन् ।
चिसोले गर्दा जहाजमा यात्रा गर्ने यात्रुको चाप वृद्धि भएको बेला मौसमको खराबीले गर्दा उडानहरु अनियमित हुँदै गएपछि यात्रुहरुलाई समस्या परेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?