पुरुषोतम् खत्री
काठमाडौं, पुस २२ गते । राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकहरूको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएको छ । ट्राभल डकुमेन्ट तयार भएसँगै बुधबार उनीहरूलाई चीन पठाइने संभावना रहेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १२२ जना चिनियाँ नागरिकको ट्राभल डकुमेन्ट अध्यागमन विभागलाई उपलब्ध गराएको छ ।
अध्यागमन विभागका निर्देशक रामचन्द्र्र तिवारीले चिनियाँ दूताबसले ट्राभल डकुमेन्ट तयार गरी विभागलाई पठाएको र उनीहरूको पासपोर्ट रद्द गर्न आग्रह गरेको बताउनुभयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)का एसपी बेलबहादुर पाण्डेले पक्राउ परेका १२२ जना मध्ये २६ जनासँग मात्र पास्पोर्ट रहेको र बाँकी ९६ जनासँग भने पासपोर्ट नै नभएको पाइएको बताउनुभयो ।
उहाँले कुनै पनि विदेशी नागरिकसँग पासपोर्ट नभएको अबस्थामा सम्बन्धित देशमा जानका लागि ट्राभल डकुमेन्ट आवश्यक पर्ने र सो बनेपछि बनेपछि उनीहरूको वैधानिक रुपमै फकर्न पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, संभवत बुधबार दुई समूहमा गरेर चिनियाँहरुलाई फर्काइन्छ । उनीहरू मध्ये ४२ जनालाई पहिलो समूहमा करीब ६.०० बजे चाइना इस्टन र दोस्रो ७.०० बजे साउदन एयरवेजबाट लगिने तयारी भएको छ । यसका लागि दुबै विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइ सकेका छन् ।