logo
२०८२ असार ७ शनिवार



शौचालय बनाउन स्थान अभाव

खुला |


शौचालय बनाउन स्थान अभाव


शिवा तामाङ

काठमाडौँ, पुस २३ गते । काठमाडौँ महानगरपालिकामा सार्वजनिक तथा स्मार्ट शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने योजना बने पनि तोकिएको स्थानमा जमिन नभएका कारण कार्यान्वयन हुन सकेको छैन ।
विशेष गरी पर्यावरणको संरक्षण गर्दै सहर सुन्दर बनाउन नक्सा तयार गर्ने सहरी विकास आयोगले काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयको अवस्था सुधार्न बनाएको योजना ठाउँ नै नपाउँदा कार्यान्वयनमा ढिलाइ भइरहेको आयोगले जनाएको छ ।
मानिसको अत्यधिक चाप भएको काठमाडौँ उपत्यकामा बनाइएका अधिकांश शौचालयको अवस्था शौच गर्न नसकिने अवस्थाका छन् । ती शौचालयमा सरसफाइ र पानीको अभावमा छिरिसक्नु छैन । साथै अपाङ्गमैत्री, लैङ्गिकमैत्री पनि छैनन् । सार्वजनिक शौचालयको अवस्था सुधार गरेर नागरिकको सरसफाइमा पहुँच पु¥याउने उद्देश्यले काठमाडौँ महानगरपालिका, ललितपुर, मध्यपुर ठिमी, कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सम्बन्धी सर्वेक्षण गरेका थिए । काठमाडौँ महानगरपालिका र मध्यपुर ठिमीमा सार्वजनिक शौचालयको व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन ।
‘सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन–२०७५’ को कार्यान्वयन गर्न नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा सर्वेक्षण पनि गरियो । सो सर्वेक्षणपछि ललितपुर र कीर्तिपुर नगरपालिकामा मात्र शौचालय निर्माण तथा व्यवस्थापनको केही काम अगाडि बढेको छ भने काठमाडौँ महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा भने काम अगाडि बढ्न सकेको छैन । सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले नयाँ स्थानमा शौचालय बनाउन स्थान निश्चित नभइसके पनि विष्णुमती करिडोर क्षेत्रमा बनेका सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने योजना भने कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । उहाँले आयोगले साना, मझौला र स्मार्ट शौचालयको नक्सा तयार गरेको छ, महानगरपालिकाभित्र आवश्यकताका आधारमा त्यसको कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
त्यसैगरी काठमाडौँ महानगरपालिका, फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालका अनुसार गैरआवासीय नेपाली सङ्घसँग सार्वजनिक शौचालयको व्यवस्था गर्न आग्रह गरिएको छ । मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सार्वजनिक शौचालयको व्यवस्थापन गर्न सर्वेक्षण त भएको हो तर खास काम भने अगाडि नबढेको जानकारी दिनुभयो ।
उहाँले सर्वेक्षणका क्रममा विशेष गरी बसपार्कमा मानिसको बढी चाप हुने भएकाले त्यस्ता स्थानमा पानी तथा सरसफाइ सहितका सार्वजनिक शौचालयको आवश्यकता देखिएको, पानी त घर घरमै कम छ, शौचालयका लागि व्यवस्थापन गर्न झनै कठिनाइ भएकाले काम अगाडि नबढेको बताउनुभयो । सर्वेक्षण अनुसार मध्यपुर ठिमी नगरपालिकाभित्र भने १९ वटा सार्वजनिक शौचालय रहेको पाइएको छ । ललितपुर र कीर्तिपुर नगरपालिकामा सार्वजनिक शौचालयको अवस्था सुधारका कार्यक्रम सुरु गरिएको जनाइएको छ । ललितपुर नगरपालिकाले बटुवा र पर्यटकलाई सुविधा पु¥याउन सार्वजनिक शौचालयको अवस्था, सुधार र आवश्यकताका आधारमा नयाँ स्थानमा पनि शौचालय निर्माण कार्य अगाडि बढाएको छ ।
ललितपुर नगरपालिकाका प्रवक्ता राजु महर्जनले नेपाल भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । ललितपुरवासी लगायत त्यहाँ घुम्न, किनमेल गर्न, विभिन्न क्रियाकलापमा सहभागी हुँदा शौचालय प्रयोग सहज होस् भन्ने उद्देश्यले पाटनढोकाको पुरानो शौचालय प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले भत्काएर नयाँ संरचना बनाइएको छ । मङ्गलबजारको शौचालय भने पानी र सरसफाइयुक्त बनाएर व्यवस्थापन गरिएको बताउनुभयो ।
ललितपुर महानगरपालिका र निजी संस्था एरोसान सँगको सहकार्यमा नगरपालिकाभरकै सार्वजनिक शौचालयको व्यवस्थापन कार्य अगाडि बढिरहेको जानकारी दिँदै शङ्खमूलमा नयाँ बनाउने काम भइरहेको बताउनुभयो । त्यसैगरी लगनखेल र जावलाखेलमा पनि शौचालय व्यवस्थापनको काम अगाडि बढाइने बताउनुभयो ।
पर्यटकको बढी चहल–पहल हुने स्थानमा निजी घरसँग सम्झौता नै गरेर भ्रमण वर्षभरका लागि शौचालय प्रयोग गर्न दिने व्यवस्था गरिन लागिएको प्रवक्ता महर्जनले बताउनुभयो । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री सार्वजनिक शौचालय निर्माणका साथै बायोग्याँस प्लान्ट पनि जडान गरेर बनाइएका छन् । त्यसैगरी कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले सर्वेक्षणपछि कीर्तिपुर नगरपालिकामा सार्वजनिक शौचालय व्यवस्थापन र नयाँ बनाउने क्रम चलिरहेको जानकारी दिनुभयो ।
उहाँले चारैवटा नगरपालिकाका उपप्रमुखको सहभागितामा भएको सर्वेक्षणपछि सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन–२०७५ पनि साझा रूपमै कार्यान्वयनमा छ । सोही मार्गदर्शन अनुसार कीर्तिपुर नगरपालिका वडा– ६ चोभार, भाजङ्गल र उमामहेश्वर मन्दिर लगायतमा शौचालय व्यवस्थापनको काम भइसकेको र अन्य स्थानमा पनि आवश्यकताका आधारमा निजी संस्थासँगै सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।
नेवारी गुठीका प्राविधिक प्रकाश अमात्य लगायतको सहयोगमा सार्वजनिक शौचालयको अवस्थाका बारेमा गरिएको सर्वेक्षणमा काठमाडौँ महानगरपालिकामा १५१, ललितपुर नगरपालिकामा ५४, मध्यपुर ठिमी नगरपालिकामा १९ र कीर्तिपुर नगरपालिकामा १८ गरी २४२ शौचालय छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?