logo
२०८१ मंसिर १३ बिहीवार



गोरखापत्र ज्ञानसागर (विषयगत प्रश्नोत्तर)

खुला |


गोरखापत्र ज्ञानसागर (विषयगत प्रश्नोत्तर)


संविधानका विशेषताहरू
१. नेपालको संविधानका प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् ।
 नेपालको संवैधानिक इतिहासमा पहिलोपटक संविधानसभाद्वारा संविधान निर्माण गरी विक्रम संवत् २०७२ असोज ३ गते देखि लागू गरिएको नेपालको संविधानले नेपालमा राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा संस्थागत ग¥यो । राष्ट्रपति, उपराष्ट्रपतिको व्यवस्थालाई थप व्यवस्थित ग¥यो, नेपाललाई सात प्रदेशको सङ्घीय राज्यमा रूपान्तरण गरी समावेशी राज्य निर्माण ग¥यो । यसभन्दा अगाडिका कुनै पनि संविधान यो संविधान जसरी निर्माण भएका थिएनन् र यस्ता व्यवस्था गरिएका पनि थिएनन् । ३७ भाग, ३०८ धारा र नौ अनुसूचीमा लिपिबद्ध संविधानका प्रमुख विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली, सरकारलाई कम्तीमा दुई वर्षसम्म स्थिरता, सुरुका दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने, प्रधानमन्त्रीले संसद् विघटन
गर्न नपाइने,
– राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रदेशसभाका सभामुख र उपसभामुख फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था गरी लैङ्गिक एवम् जातीय समानता कायम गरिएको,
– दुईतिहाइ बहुमतबाट संशोधन एवम् परिमार्जन गर्न सकिने लचिलो संविधान,
– संसद्मा समावेशी प्रतिनिधित्व, मिश्रित निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभासहित केन्द्रमा दुई सदनात्मक सङ्घीय संसद्, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य, राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत तीनसहित ५९ सदस्य,
– सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना, केन्द्रमा प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्, प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्नेगरी मन्त्रिपरिषद्, प्रदेशमा एक सदनात्मक संसद्, सात प्रदेशमा कुल ५५० सांसद, प्रदेश संसद्मा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट संसद् चुनिने व्यवस्था, प्रदेशमा प्रदेश संसद्बाट निर्वाचित मुख्यमन्त्री र राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख हुने, स्थानीय तहमा गाउँपालिका, नगरपालिका र
जिल्लासभा रहने,
– संविधानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार
क्षेत्र विभाजन,
– एकीकृत न्यायपालिका, सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको व्यवस्था, केन्द्रमा सर्वोच्च अदालत, प्रदेशमा उच्च अदालत र जिल्लामा जिल्ला अदालत, सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने,
– कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने, आमा र बाबु दुवैको नामबाट वंशजको नागरिकता,
– संविधानमा मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति, दलित, महिलाका लागि छुट्टाछुट्टै संवैधानिक आयोगको गठन गरी १३ वटा संवैधानिक आयोगको व्यवस्था ।

२. राजस्व चुहावट नियन्त्रण गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।
 राजस्वसम्बन्धी प्रचलित ऐन नियमको उल्लङ्घन गरी राजस्व नतिर्ने वा कम तिर्ने कार्य राजस्व चुहावट हो । नेपालमा राजस्व चुहावट रोक्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि राजस्व चुहावट नियन्त्रण व्यवस्थित हुन सकेको छैन । नेपालमा खासगरी नेपाल र भारतबीच सीमा खुला रहनु, करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास नहुनु, राजस्व सङ्कलन गर्ने र राजस्व चुहावट रोक्ने निकायबीच कार्यगत समन्वयको कमी हुनु, सरकारले जनतालाई राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नुजस्ता कारणले राजस्व चुहावट भएको पाइन्छ । त्यसैले राजस्व चुहावट नियन्त्रण गर्न यी क्षेत्रमा सुधार गर्नु आवश्यक देखिन्छ । समग्रमा राजस्व चुहावट नियन्त्रण गर्न निम्न उपायहरू अबलम्वन गर्नुपर्दछ ः
– नेपाल र भारत बीचको खुला सीमा व्यवस्थित गर्ने,
– राजस्व प्रहरीको व्यवस्था गर्ने, द्रुत गस्ती र आकस्मिक गस्तीलाई थप क्रियाशील बनाउने,
– दीर्घकालीन राजस्व नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने,
– राजस्वसम्बन्धी ऐन, नियममा समसामयिक परिमार्जन गरी प्रभावकारी पालना गर्ने÷गराउने,
– करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास गराउने,
– करको दर घटाई करको दायरा फराकिलो बनाउने,
– राजस्व प्रशासनसँग सम्बन्धित निकायबीच कार्यगत समन्वय बढाउने,
– राजस्व प्रशासनलाई जिम्मेवार, जवाफदेही, आधुनिक एवम् उच्च मनोबलयुक्त बनाउने,
– राजस्व चुहावट रोक्ने कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने,
– कानुनी र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्ने, तिनको प्रभावकारी पालना गर्ने, गराउने

३. सामाजिक मूल्य–मान्यता भनेको के हो ? चर्चा गर्नुहोस् ।
 समाज र समाजमा बसोवास गर्ने व्यक्तिहरूको असल आचरण, सहयोगी व्यवहार, नम्रता, शिष्टताजस्ता असल सामाजिक चालचलन एवम् बानी–व्यहोरालाई सामाजिक मूल्य–मान्यता भनिन्छ । समाजमा एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने आदर, सत्कार, माया–ममता, नम्र र शिष्ट भाषा, इमानदारी, नैतिकता, आज्ञापालना, अनुशासन, गरिब दुःखीमाथि सेवा सहयोग, मित्रवत् व्यवहार, सम्मान, मर्यादा आदि सामाजिक मूल्य–मान्यता हुन् । यो समाज र समाजमा बसोवास गर्ने व्यक्तिहरूको आचरणलाई राम्रो नराम्रो भनेर मूल्याङ्कन गर्ने तथा छुट्याउने आधार पनि हो । सामाजिक मूल्य–मान्यताहरू व्यक्तिले समाजबाट सिकेर ग्रहण गर्दै जान्छ । सामाजिक मूल्य–मान्यताविपरीत जाने व्यक्तिलाई समाजद्वारा अनैतिक मानिन्छ । यसले समाजलाई असल मार्गतर्फ लैजान र खराब व्यवहारबाट नियन्त्रण गर्न सहयोग गर्दछ । यो सामाजिक संरचनाको मूलआधार पनि हो । सामाजिक मूल्य–मान्यता समाजअनुसार फरक–फरक हुन सक्छ । सामाजिक मूल्य र मान्यताहरू विशेषगरी धर्मद्वारा निर्देशित हुन्छन् । सामाजिक मूल्य र मान्यता समाजका सम्पूर्ण सदस्यका लागि अनिवार्य हुन्छ । यो सामाजिक नियन्त्रणको महŒवपूर्ण साधन पनि हो ।

४. जनसङ्ख्या व्यवस्थापन भनेको के हो ? जनसङ्ख्या व्यवस्थापन गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।
 साधन स्रोतको उपलब्धताअनुसार जनसङ्ख्या वृद्धि गर्ने र अभावअनुसार जनसङ्ख्या नियन्त्रण गर्ने कार्यलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । जनसङ्ख्या निरन्तर परिवर्तन भइरहने हुन्छ, यसलाई साधन–स्रोतअनुसार व्यवस्थित गर्नुपर्दछ । साधन–स्रोतले धान्न नसक्ने जनसङ्ख्या नियन्त्रण गर्नुपर्दछ भने साधन–स्रोत परिचालन गर्न आवश्यक पर्ने जनसङ्ख्या वृद्धि गर्नुपर्दछ । यो नै जनसङ्ख्या व्यवस्थापन हो । साधन स्रोतको उपलब्धता र अभावले जनसङ्ख्या वृद्धि र नियन्त्रणको कार्यलाई प्रभाव पार्दछ । त्यसैले साधन–स्रोतको तत्काल आपूर्ति गर्दा र भावी योजना बनाउँदा जनसङ्ख्याको स्थिति
विश्लेषण गर्नुपर्दछ ।
जनसङ्ख्या व्यवस्थापनका उपाय
प्राकृतिक साधन–स्रोत मासिँदै वा साँघुरिँदै गइरहने तर जनसङ्ख्या निरन्तर वृद्धि भइरहने हुँदा जनसङ्ख्या वृद्धिभन्दा जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापनको प्रमुख क्षेत्र बनेको छ । त्यसैले व्यवस्थापनअन्तर्गत जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नु अहिलेको आवश्यकता देखिन्छ । निम्नउपाय अवलम्बन गरेर जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ ः
– उपयुक्त उमेरमा विवाह गर्ने, बालविवाह तथा बहुविवाह रोक्ने,
– चार÷पाँच वर्षको जन्मान्तरमा बच्चा जन्माउने,
– छोराछोरी दुवै सन्तान हुन् । दुवैको बराबरी अस्तित्व स्वीकारी लैङ्गिक समानता कायम गर्ने, छोरा र छोरीबीच विभेद नगर्ने,
– महिलाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने,
– परिवारनियोजनका स्थायी र अस्थायी साधनलाई
सर्वसुलभ बनाउने,
– जनसङ्ख्या नियन्त्रण गर्ने किसिमका जनचेतनामूलक कार्यक्रम थप लागू गर्ने,
– बसाइँ–सराइलाई थप व्यवस्थित गर्ने,

५. सामुदायिक स्वास्थ्य भनेको के हो ? नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान गरी यिनको समाधानमा व्यक्ति, परिवार र समुदायको के–कस्तो भूमिका हुनुपर्छ ? चर्चा गर्नुहोस् ।
 समुदायका व्यक्तिहरूले आफ्नो समुदाय एवम् समाजमा रहेका विभिन्न स्वास्थ्य समस्या यकिन गरी व्यक्ति, परिवार, समाज तथा वातावरणको स्वास्थ्यमा सुधार ल्याउने कार्यलाई सामुदायिक स्वास्थ्य भनिन्छ । यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर माथि उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवम् राष्ट्र सबैको संयुक्त प्रयास हुनुपर्दछ ।
नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या
भौगोलिक कठिनाइ, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, औषधिको अभाव, दक्ष स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या छन् । समग्रमा नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन् ः
– सरुवा रोग जस्तै ः झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप हुनु,
– शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च हुनु,
– सन्तुलित भोजनबारे जानकारी नहुनु,
– कुपोषण बढ्दै जानु,
– जीवनशैली अस्वस्थकर हुनु,
– स्वास्थ्य सेवाको कमी हुनु,
– स्वास्थ्य शिक्षाको कमी हुनु,
– ग्रामीण बस्तीहरूमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको
अभाव हुनु,
– धूमपान, मद्यपान एवम् लागूपदार्थको सेवन गर्नेको सङ्ख्या
बढ्दै जानु,
– समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिबको पहँुचमा सर्वसुलभ हुन नसक्नु ।
– सामुदायिक स्वास्थ्य समस्या समाधानमा व्यक्ति, परिवार र समुदायको भूमिका
क. व्यक्तिको भूमिका
– सन्तुलित भोजन गर्ने, सुर्ती सेवन, मदिरा सेवनजस्ता बानी हटाउने तथा अरूलाई पनि हटाउन सल्लाह सुझाव दिने,
– नियमित शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने,
– समय–समयमा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यसम्बन्धी आफूले जानेका कुरा अरूलाई सिकाउने र अरूले जानेका कुरा आफूले सिक्ने,
ख. परिवारको भूमिका
– परिवार पहिलो पाठशाला भएकाले परिवारको खानपिनमा सुधार ल्याउने, बालबच्चालाई स्वास्थ्यसम्बन्धी राम्रो बानीबेहोरा सिकाउने,
– स्वास्थ्य शिक्षाबारे परिवार एवम् समुदायमा जनचेतना बढाउने,
– सामुदायिक स्वास्थ्यमा महिला सहभागिता बढाउन घरपरिवारबाट महिलालाई अनुकूल वातावरण तयार गरिदिने,
– गाउँ, घर, बस्ती, टोलको सरसफाइ गर्न परिवारका सबै सदस्य क्रियाशील हुने, सहयोग गर्ने,
ग. समुदायको भूमिका
– व्यक्ति र परिवारले गर्न नसक्ने काम समुदाय मिलेर गर्ने, जस्तै ः खानेपानी आपूर्ति, ढलनिकास, सार्वजनिक सरसफाइ, वृद्धाश्रम, खेलकुद मैदान, पार्क, सार्वजनिक चर्पी आदिको निर्माण गर्ने,
– फोहोरमैला व्यवस्थापनमा सहयोगी एवम् समन्वयात्मक भूमिका निर्वाह गर्ने, द्वन्द्व, झगडा नगर्ने,
– सामुदायिक अस्पतालको स्थापना गर्ने,

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?