गोरखापत्र अनलाइन
काठमाडौ, पुस २४ गते । बेपत्ता परिएका व्यक्तिका परिवारले बेपत्ता छानविन आयोगमा पदाधिकारी नहुँदा बेपत्ता परिवारले न्याय माग्न जाने अबस्था नभएको बताएका छन् ।
द्वन्द्वकालमा राज्यका तर्फबाट बेपत्ता पारिएका गोरखाका राजेन्द्र ढकालको सम्झनामा विहीबार राजधानीमा आयोजित कार्यक्रममा राजेन्द्रकी पत्नी विमला ढकालले बेपत्ता छानबिन आयोग पदाधिकारीविहीन हुँदा आफूहरू न्याय माग्न जाने ठाउँ पनि नभएको गुनासो गर्नुभयो ।
उहाँले यस अघि गठन भएको सत्य निरुपण र बेपत्ता छानबिन आयोगले केही काम गर्छ कि भन्ने आशा पलाएको भए पनि आयोगले खसै केही काम गर्न नसकेको गुनासो गर्नुभयो ।
उहाँले सरकारले अहिले पनि आयोगका रिक्त्त पदमा नियुक्ति गर्न डराइ रहेको भन्दै विगतमा बेपत्ता पारिएका व्यक्तिलाई सोधपुछ र बयान लिने आवश्वासन दिएर निवेदन लिइएको भए पनि त्यसमा केही काम अगाडि नबढेको गुनासो गर्नुभयो ।
उहाँले पार्टी एकता भए पछिको अबस्थामा वेपत्ता परिवारको अबस्था के हुने र आफूहरुले न्याय पाउने कि नपाउने भन्ने प्रश्न उठेको बताउनुभयो ।
कार्यक्रममा गोरखा सांसद हरि अधिकारी वेपत्ता नागरिकका बारेमा राज्यले जतिसक्दो चाँडो बेल्नु पर्ने कुरामा जोड दिनुभयो
तत्कालीन नेकपा माओवादीका जिल्ला नेता राजेन्द्र ढकाललाई प्रहरीले २०५५ साल पुस २४ गते पक्राउ गरेको र त्यस पछि उहाँको अबस्था अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।