logo
२०८१ मंसिर १३ बिहीवार



उखु फाँडेर तरकारी

खुला |


उखु फाँडेर तरकारी


सर्लाही समाचारदाता

सर्लाही, पुस २६ गते । सर्लाहीको बसबरिया गाउँपालिकाको सढोडवाका कपिलदेव साहले उखु खेती छाडेर दुई वर्षदेखि व्यतवसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ ।
उखु खेतीका कारण घर व्यवहार धान्नै मुस्किल परेपछि साहले उखु लगाउँदै आएको खेतमा अहिले काउली, खुर्सानी, धनियाँ, प्याज, लसुनलगायतका तरकारी र अन्य बाली लगाउनु भएको छ । उखु उब्जाएर चिनी मिलमा बिक्री गरेको दुई वर्षसम्म पैसा पाइएन, त्यसपछि उखु मासेर अहिले तरकारी र अन्य बाली लगाएको छु, साहले भन्नुभयो, उखु लगाएर साहूको ऋण थुपार्नुभन्दा तरकारी खेतीबाटै सहज रूपमा व्यवहार चलिरहेको छ ।
चिनी उद्योगमा उखु बिक्री गरेपछि पैसा लिन ठूलो सङ्घर्ष गर्नु परेपछि आफू तरकारी खेतीमा लागेको साहले बताउनुभयो । साहजस्तै सर्लाहीका अन्य किसानले पनि उखु मासेर अन्य बाली लगाउन थालेका छन् । उखुको मूल्य कायम गराउन र चिनी उद्योगमा उखु बिक्री गरेपछि भुक्तान िलिन आन्दोलन नै गर्नुपर्ने बाध्यताले उखु खेतीतर्फ किसानको आकर्षण घटेको हो ।
उहाँ मात्र होइन, सर्लाहीका अधिकांश किसान उखु बाली छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै आएका छन् । उखु मासेर तरकारी रोप्ने तयारीमा गाउँ गाउँमा किसान जुटेका देखिन्छन् ।
केही वर्षअघिसम्म बाक्लै मात्रामा उखु खेती हुने क्षेत्रमा अहिले मकै, गहुँलगायतका बाली र तरकारी खेती हुन थालेको छ । धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रिकेश्वर महतोले घर व्यवहार धान्न उखु खेती छाड्नुको विकल्प नरहेको गुनासो गर्नुभयो ।
चिनी उद्योगीलाई उधारोमा उखु बेचेर कति दिनम्म साहूसँग ऋण काडेर व्यवहार चलाउनु ? महतोले भन्नुभयो, उखु खेतीले बिल्लीबाठको अवस्था आइसकेको छ । उहाँले साहूको ऋण चुक्ता गर्न खेत बिक्री गर्न खोज्दा पनि महिनाथपुर क्षेत्रको खेत बिक्री नै हुन छाडेको गुनासो गर्नुभयो ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती गर्ने किसान बर्सेीन घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले चिनी उद्योगमा खुट्टी उखु (पहिलो वर्ष रोपेपछि पहिलो र दोस्रो वर्ष निरन्तर पलाउने पुरानो उखु) धेरै मात्रामा आइरहेको छ ।
अन्य बालीका लागि सिँचाइको अभावलगायतका कारण थोरै किसानले मात्रै नयाँ उखु लगाएका छन्, नत्र अहिले उद्योगमा आइरहेको खुट्टी उखु नै हो, मैनालीले भन्नुभयो, भुक्तानीमा यस्तै समस्या भइरहे विस्तारै किसानले उखु खेती गर्न छाड्दै जान्छन् ।
मैनालीले सरकारले अनुदान रकम दिलाउन गरेको आलटाल र उद्योगीले भुक्तानीमा अनेक बहाना बनाउने समस्याले किसानले उखु खेतीतर्फ मन मार्दै गएको बताउनुभयो । चिनी उद्योगले सर्भे गर्दा यस वर्ष उखु उत्पादनमा २० प्रतिशतले कमी आएको मैनालीले जानकारी दिनुभयो । गत वर्ष देशभरका १४ वटा चिनी उद्योगले दुई करोड तीन लाख क्विन्टल उखु क्रसिङ गरेका थिए ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?