भोटराज राई
उदयपुर, पुस २६ गते । राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तारसँगै उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ र १ का बासिन्दाले विजुली बत्ती बाल्न पाएका छन् । हजारे सामुदायिक वन उपभोक्ता समुह र महाकाली सामुदायिक वन उपभोक्ता समूहसमेतको पहल र लगानीमा विद्युत प्राधिकरणले लाईन विस्तार गरेपछि बासिन्दाले बत्ति बाल्न पाएका हुन् । गाउँमा पहिलोपटक बत्ति बाल्न पाउदा स्थानीय बासिन्दा खुसी छन् ।
“दशौं वर्षदेखिको विजुली बाल्ने सपना बल्ल पुरा भयो ।” स्थानीय सरीता मगरले भन्नुभयो “हामी धेरै हर्षित छौं । ”
पालिकाको वडा नं. १ को रातमाटे, हजारे, नयाँबजार, दुर्जे, लिपे र वडा नं. ५ को कुर्कुनटार गाउँका एकसय बढि घरधुरीमा विजुली बत्ति बलेको हो । पौष २४ गते प्रदेश सांसद नारायण बुर्जा मगरको प्रमुख आतिथ्यमा विजुलीको भब्य उद्घाटन भयो । दशौं वर्षदेखिको प्रयास सफल भएकोमा स्थानीयले खुुुसीयाली मनाएका छन् ।
विजुली घरघरमा विस्तार भएको छ । गाउँको घर, गोठदेखि गल्लीसम्म बत्ति बलेपछि गाउँ नै उज्यालो बनेको छ । विजुली बत्तिका कारण उज्यालो मात्र नभई खाना पकाउन, रेडियो, टिभि चलाउन, विभिन्न मेसिनहरु चलाउन सक्ने भएका छन् । यसले त्यहाँको बासिन्दाको जनजीवनमा सहजता र सुविधा ल्याएको स्थानीय मानबीर मगरले बताउनुभयो ।
नेपाल सरकारको उज्यालो नेपालको अभियान अन्तर्गत नै सो ठाउँमा विजुली विस्तार भएको हो । स्थानीयबासी, सामुदायिक वनहरुको पहल र केही लगानीमा थपेर विद्युत प्राधिकरणले विस्तार गरेको नेपाल विद्युत प्राधिकरण उदयपुरका प्रमुख रोसन सिंहले बताउनुभयो ।
उदयपुरगढी गाउँपालिकाको सबै वडाहरुमा यसैवर्ष विजुली बाल्ने उद्देश्यका साथ पालिकाले सामुदायिक विद्युतीकरण अन्तर्गत विस्तारको काम पनि गरिरहेको छ । कच्ची भएपनि गाउँगाउँमा सडक पुगिसकेको सो पालिकामा विद्युत विस्तार भएपछि गाउगाउँमा विकास पुग्ने भएको छ ।
सो पालिका मात्र नभई अन्य ग्रामिण पालिकाहरु रौतामाई, लिम्चुङबुङ, ताप्ली जस्ता ग्रामिण पालिकाहरुमा पनि विजुली विस्तार गरेर जनतालाई सुविधा दिने पहल भईरहेको १ नं. प्रदेशका सांसद नारायण बुर्जा मगरले बताउनुभयो ।