logo
२०८१ मंसिर १३ बिहीवार



बाँफिकोटमा हेलिप्याड निर्माण 

खुला |


बाँफिकोटमा हेलिप्याड निर्माण 
बाँफीकोट गाउँपालिका –३ स्यार्पूमा निर्माण गरिएको हेलिप्याड । तस्बिर - सुरेन्द्र खत्री ।


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), पुस २८ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –३ स्यार्पूतालको छेउमा हेलिप्याड निर्माण गरिएको छ । बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो ।
सबैखाले विपत्को समयमा आकस्मिक उद्दार कार्यको सहजताका लागि हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निर्माण कार्य सम्पन्न भएसँगै सोमबार एक औपचारिक कार्यक्रमका बीच नेपाली सेनाले उक्त हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

हेलिप्याड निर्माणका लागि गाउँपालिकाले निर्माण सामाग्री खरिद गरेको र नेपाली सेनाले इन्जिनियरिङ तथा ज्यामीको काम गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । ‘यो गाउँपालिकाको पूर्वयोजना थिएन ।’ उहाँले भन्नुभयो, ‘विपत् व्यवस्थापन र उद्दारका लागि हेलिप्याड आवश्यक देखिएकोले नेपाली सेनाको सल्ले स्थित नरसिंह दल गणसँगको समन्वयमा यो काम गरियो ।’

विशेषगरी जटिल प्रकृतिका प्रसुति सम्बन्धीका बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा एम १७ हेलिकप्टर ल्याण्ड हुनेखालको हेलिप्याड बनेकाले सहज हुने अपेक्षा गरिएको अध्यक्ष केसीको भनाइ छ । यसका साथै स्यार्पूतालमा हेलिकप्टर लिएर आउने विशिष्ट व्यक्तिहरुका लागि समेत अवतरण गर्न सहज हुने भएको छ ।

करिब तीनलाख रुपियाँ बराबरको सामाग्री र दैनिक ५० जनाका दरले सातदिनको श्रमदानपछि हेलिप्याड निर्माण भएको नरसिंह दल गणका गणपति दिनेश गौतमले बताउनुभयो । दैवी प्रकोप, उद्दार, राहत तथा खोज कार्यका लागि हेलिप्याडको उपयोगिता हुने उहाँको भनाइ छ । नेपाली सेनाले विभिन्न समयमा यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धीका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

हेलिप्याड उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गणपति गौतमका साथै प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?