logo
२०८१ मंसिर १३ बिहीवार



विद्यालय भवन संरक्षण भएन

खुला |


विद्यालय भवन संरक्षण भएन


प्रकृति अधिकारी

काठमाडौँ, माघ १ गते । भूकम्पपछि पुननिर्माण गरिएका भवनलाई विद्यालयहरूले संरक्षण नगरेको पाइएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले गरेको अनुगमनबाट यस्तो अवस्था देखिएको हो ।
एकाइका आयोजना उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भन्नुभयो, “हस्तान्तरण भएका विद्यालयको मर्मत सम्भार भएको देखिँदैन । राम्रोसँग संरक्षण नै नगरेका पायौँ ।” चार वर्षअघि २०७२ सालको भूकम्पका कारण ३१ जिल्लाका सात हजार ५५३ विद्यालय भवन क्षतिग्रस्त
भएका थिए ।
तीमध्ये हालसम्म पाँच हजार ३८४ वटा भवन पुनःनिर्माण भइसकेका छन् । एक हजार ५७७ वटा भवनको निर्माण जारी छ भने ५९२ भवनको पुनःनिर्माण गर्न बाँकी छ । विद्यालयहरूले भव्य र आधुनिक भवन पाएका छन् । सुरक्षाका दृष्टिकोणले भवनलाई नियमित रूपमा मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पालले विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएका छन् । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन् ।
यस्तो कार्यविधि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले पनि तयार गरेको छ । तर अधिकांश स्थानीय तहलाई यसबारेमा जानकारी पुग्न सकेको छैन । सिन्धुपाल्चोकका तीन स्थानीय तहले प्रयोगका क्रममा सामान्य टुटफुट भई बिग्रन गएका संरचनाको तत्काल मर्मत सम्भार गर्ने उद्देश्यले कार्यविधि तयार गरेका हुन् । विद्यालयमा मर्मत सम्भार कोष खडा गरी सो कोषको रकमबाट नै मर्मत सम्भारका लागि खर्च गर्ने विधि अपनाउने कुरा सोही कार्यविधिमा प्रष्ट उल्लेख गरिएको छ ।
हरेक १० वर्षमा एकपटक विद्यालय भवन पूरै रङ्गरोगन गर्नुपर्ने, २५ वर्षमा एकपटक छानाका जस्तापाता परिवर्तन गर्नुपर्ने, नियमितरूपमा जस्तापातामा जडान गरिएका पेच कस्नुपर्ने, भौतिक पूर्वाधारको सबै पक्षको नियमित हेरचार गर्नुपर्ने लगायतका कुरालाई ती दुई स्थानीय तहले कार्यान्वयनमा ल्याएको मर्मत सम्भार कार्यविधिमा उल्लेख छ ।
मेलम्ची नगरपालिकाले मर्मत सम्भारलाई प्रभावकारी र नियमित बनाउन पुरस्कारको व्यवस्था नै कार्यविधिमार्फत अगाडि सारेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार सो नगरपालिकाले तयार पारेको कार्यविधिमा यस्तो पुरस्कारले विद्यालयको इज्जत र प्रतिष्ठा पनि बढाउनुका साथै विद्यालयको भर्ना दरमा समेत सहयोग हुने उल्लेख गरिएको छ ।
उपनिर्देशक श्रेष्ठले दानमा प्राप्त जग्गा उपयुक्त नभएकाले ती स्थानमा नयाँ विद्यालय भवन बन्न नसक्ने स्पष्ट गर्दै भन्नुभयो, “समुदायले उपयुक्त स्थान उपलब्ध गराएमा ती स्थानमा नयाँ भवन निर्माण गरिदिन प्रतिबद्ध छौँ तर मापदण्डअनुसार नरहेका जग्गामा नयाँ भवन निर्माण गर्न सकिँदैन ।”
एकाइका आयोजना निर्देशक चूडामणि पौडेलले नयाँ बनेका भवनको संरक्षण र संवद्र्धनको विषय जत्तिकै भवन सदुपयोगको विषय पनि महìवपूर्ण रहेको बताउनुभयो । “ठूला र फराकिला कक्षाकोठा बनेका छन् तर विद्यार्थी न्यून छन् । अब कसरी विद्यार्थी सङ्ख्या बढाउने र संरचनाको सही सदुपयोग गर्ने भन्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ,”
उहाँले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?