logo
२०८१ मंसिर १३ बिहीवार



कृषि अनुदानको दुरुपयोग रोकिन्छ : मन्त्री भुसाल

खुला |


कृषि अनुदानको दुरुपयोग रोकिन्छ : मन्त्री भुसाल



भैरहवा समाचारदाता

भैरहवा, माघ २ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताउनुभएको छ । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उहाँले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताउनुभयो ।
रुपन्देहीको सियारी गाउँपालिकामा बुधबारदेखि सुरु भएको मत्स्य एवं कृषि महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी आधुनिक ढङ्गले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको पनि बताउनुभयो । कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता हो, यान्त्रीकरणबिना कृषि उत्पादन बढ्न सक्दैन, उहाँले भन्नुभयो, किसानलाई व्यावसायिक बनाउन यान्त्रीकरणको विकल्प छैन ।
उहाँले बीउबिजनसम्बन्धी राष्ट्रिय नीति र गतिविधिलाई सङ्घीय ढाँचाअनुरूप बनाउन आवश्यक सबै खालका कानुन संशोधन गर्ने पनि बताउनुभयो । बीउबिजनसम्बन्धी हाम्रा नीति र गतिविधि सङ्घीय ढाँचाअनुरूप बनाउनुपर्ने छ ।
मन्त्री भुसालले माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्नेगरी सरकार अघि बढ्ने र त्यसका लागि बजारीकरणमा जोड दिन सरोकारवालालाई आग्रहसमेत गर्नुभयो । माछामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि भारतीय माछा आयात हुनु मुलुकका लागि दुर्भाग्य हो, अब माछापालक कृषकलाई प्रोत्साहन गर्नेगरी माछा उत्पादन बढाउने नीति सरकारले लिन्छ, मन्त्री भुसालले भन्नुभयो । रुपन्देही माछा उत्पादनमा मुलुककै नमुना कहलिँदै गएकोे उल्लेख गर्दै उहाँले यसको बजारीकरण गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पनि मत्स्य एवं कृषि क्षेत्रले भूमिका खेल्नसक्ने बताउनुभयो । प्रदेश सभा सदस्य तुलसी चौधरीले माछाको सुपरजोन भविष्यमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले गुणस्तर वृद्धि गर्न र उत्पादन बढाउनतर्फ किसानलाई प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल मत्स्य व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले कृषि क्षेत्रकै विकासमा योगदान पु¥याउन महोत्सव सफल हुने दाबी गर्नुभयो ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकले सियारीमा हुने माछा महोत्सवको अवलोकन गरेर माछाका परिकारको स्वाद लिनुका साथै विभिन्न जातजातिका संस्कृतिको अवलोकन गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीले रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने सम्भावना रहेकाले किसानलाई यसतर्फ प्रोत्साहन गर्न पनि माछा महोत्सव गरिएको बताउनुभयो । मत्स्य व्यवसायी सङ्घका केन्द्रीय सदस्य अम्बिकाप्रसाद अधिकारीले माछा महोत्सवले किसानलाई उत्साह जगाउने र नीति निर्मातालाई पनि राम्रो सन्देश दिएको बताउनुभयो ।
रुपन्देहीका चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा मत्स्यसम्बन्धी ३६ वटा स्टल राखिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?