जनार्जन खत्री
सर्लाही, माघ २ गते । सर्लाहीमा बिहीबारबाट छोरी शिक्षा बीमा कार्यक्रम लागू भएको छ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत जिल्लामा छोरी शिक्षा बीमा कार्यक्रम प्रारम्भ भएको हो । कार्यक्रमको बिहीबार ईश्वरपुर नगरपालिका–६, बयलवासस्थित नारायण जनता प्राथमिक विद्यालयमा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले उद्घाटन गर्नुभयो ।
मन्त्री रायले कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारले प्राथमिकता दिएर सुरु गरेको अभियानलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले कार्यक्रम कार्यान्वयनमा आएपछि प्रदेश २ मा छोरीमाथि भैरहेको विभेद र हिंसामा न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य उपेन्द्र महतो, नगर उपप्रमुख एकावती देवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटनसँगै बिहिवारबाटै नगरभित्र २०७५ साल माघ १ गतेपछि जन्मिएका छोरीहरुको बीमा गराउन सुरु गरिएको नगरप्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो ।
अभियान उद्घाटनकै अवसरमा छोरीहरुको खाता खोल्न आयोजित शिविरमा बिहिवार एकैदिन २४४ जना छोरीहरुको बीमा गरिएको ईश्वरपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको अति विकट क्षेत्र वडा नं. १२, कालिन्जोरका स्थानीय वासिन्दाको सहजताका लागि कालिन्जोरस्थित वडा कार्यालयमा सुक्रवार बेग्लै शिविरको आयोजना गरिएको नगरप्रमुख देवकोटाले जानकारी दिनुभयो ।
छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत प्रभु वैङ्कले छोरीको नाममा एक हजार रुपियाँको खाता खोल्दिने छ भने सो खातामा प्रदेश सरकारले १३ हजार रुपियाँ जम्मा गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । सो खाताको रकम छोरी २० वर्ष पुगेपछि प्ल टू उर्तिण गरेपछि मात्रै निकाल्न पाइन्छ । २० वर्षसम्म खाताको रकम एक लाख पुग्ने छ ।