सरोज आचार्य
काठमाडौँ, माघ ३ गते । पशुपतिनाथ ज्योतिर्लिङ्गको जलहरीमा १४१ किलो सुनले मोर्ने गरी पशुपति क्षेत्र विकास कोषले कार्य योजना पारित गरेको छ । सुनले जलहरीलाई मोरेसँगै पशुपतिनाथ मन्दिरको छानु र बसाहामा पनि सुनकै मोलम्बा लगाउने तयारी छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार दाताले दिएको दान र कोषको आयबाट गर्न लागिएको हो । यो सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिने योजना पशुपति क्षेत्र विकास कोषको छ ।
दाताले सुन खरिदका लागि प्रदान गर्ने रकम तोकिएको बैङ्कमा जम्मा गर्ने व्यवस्था र कोषाध्यक्ष थापाको संयोजकत्वमा पशुपतिनाथका चारै मुहारका पुजारी, वासुकीका पुजारी, मूलभण्डारी र विसेट नाइके सुरक्षा निकाय रहेको एक समितिसमेत गठन भएको छ ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका छोरा जितजङ्गले स्थापना गरेको पूर्वाभिमुख भएको पश्चिमतर्फको अजङ्गको बसाहा, राजा पृथ्वी वीरविक्रम र त्रिभुवनले मन्दिरको छतमा सुनको मोलम्बासहित हालेको छानुमा मोलम्बा खुइलिँदै गएको हुँदा यो मर्मत कार्य कोषले थाल्न लागेको हो । कोषाध्यक्ष डा. थापाका अनुसार पृथ्वीनारायण शाहका सुब्बाद्वय कुलानन्द झा, राधावल्लभ अर्याल र अमरसिंह थापाले पशुपति मन्दिरमा चाँदीको ढोका राखेको इतिहास छ । अब यो ढोकाको पनि मर्मत हुन्छ ।
लिच्छवि राजा सुपुष्पले बनाएको पाँच तले यो मन्दिर पछि राजा भूपालेन्द्र मल्लले वि.सं १७५४ मा आकर्षक बनाएका थिए । झिँगटीको छानु भएको यो मन्दिर अहिले दुई तलाको मात्र रहन पुग्यो । कालान्तरमा राजा महाराजाले सुनको मोलम्बासहितको छानु राखेर मन्दिर सुसज्जित बनाएको इतिहासविद् डा. गोविन्द टण्डन बताउनुहुन्छ ।
‘‘दाताले दिएको सुन वा सुन खरिदका लागि भनिएको रकम यसै प्रयोजनमा मात्र हुन्छ’’, कोषाध्यक्ष थापा भन्नुहुन्छ, ‘कोषले सार्वजनिक रपमा दान आह्वान गर्दैछ । पारदर्शिताका लागि हरेक आम्दानीलाई तत्कालै पुस्तिकामा अभिलेख राखी सार्वजनिक गर्ने व्यवस्था कोषले गरेको छ ।’
पशुपतिनाथबाहेक अमालकोट कचहरीको खन्जनेश्वरमा पनि सामान्य रूपमा यस्तै व्यवस्था होस् भन्ने जनआवाज रहेको खन्जनेश्वरका पुजारी गोपालप्रसाद रिमाल बताउनुहुन्छ । उहाँका अनुसार जलहरी दक्षिण फर्किएको यो मुलुककै एक मात्र शिवालय भए पनि यो ओझेलमा छ ।