गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । विगत छ महिनामा ३२ पैदलयात्रीको मृत्यु भएपछि ट्राफिक प्रहरीले सचेतना अभियान सुरु गरेको छ । राजधानी उपत्यकामा प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा लिन थालेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले जथाभावी बाटो काट्दा यात्रु र सवारीसाधन दुईटै दुर्घटनामा पर्ने गरेको बताउनुभयो । दुर्घटना नियन्त्रणका लागि पैदलयात्री केन्द्रित कारबाही अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । आकाशे पुल मुनिबाट बाटो काट्ने र जेब्रा क्रसिङ प्रयोग नगर्नेलाई कारबाहीसमेत थालिएको छ ।
जेब्रा क्रसिङ भएको स्थानबाट भन्दा आफूखुसी बाटो काटिदिँदा पैदलयात्री दुर्घटनामा पर्ने गरेको जानकारी दिँदै उहाँले जेब्रा क्रसिङ (सेतो धर्का) भएको स्थानबाट मात्र बाटो काट्न आग्रह गर्नुभयो । आकाशे पुलको प्रयोग अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा उपत्यकामा भएका ७६ वटा सडक दुर्घटनामध्ये ३२ पैदलयात्रीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष दुई सय ५४ दुर्घटनामध्ये ९३ पैदलयात्रीले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।
कतिपय दुर्घटना तोकिएको जेब्रा क्रसिङभन्दा तल–माथिबाट बाटो काट्दा र सडक किनारा तथा छेउबाट हिँड्डुल गर्दा भएका छन् । अपाङ्ग र अशक्तका लागि ट्राफिक प्रहरी सहयोगी बन्नेछ, अन्यलाई नियन्त्रणमा लिई २० मिनेट सोही स्थानमा कक्षा लिनुपर्ने व्यवस्था गरिएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार रत्नपार्क, भोटाहिटी र वीर अस्पताल अगाडि कारबाही अभियान सञ्चालन गरिएको छ । प्रत्येक दिन एक हजार जना कारबाहीमा पर्ने गर्छन् । कारबाहीमा पर्नेमा कलेजका विद्यार्थी र शिक्षित वर्ग नै बढी छन् ।