जनार्जन खत्री
सर्लाही, माघ ४ गते । सर्लाहीमा गैर–कानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको सरकारी जग्गा फिर्ता ल्याइएको छ ।
मालपोत कार्यालय बरहथवाले जिल्लाको साबिक हजरिया, मानपुर, गङ्गापुर सीतापुर लगायतका क्षेत्रमा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता कायम गरेको २१ बिग्घा ८ कठ्ठा ६ धुर जग्गा फिर्ता ल्याएको हो । मातपोत कार्यालय बरहथवाकै यसअघिका कार्यालय प्रमुख र केही कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा पुगेको सरकारी जग्गा मालपोत ऐन २०३४ बमोजिम दर्ता बदर गरी नेपाल सरकारको नाममा ल्याइएको मालपोत कार्यालय बरहथवाका प्रमुख गुरुप्रसाद भट्टले जानकारी दिनुभयो ।
भट्टका अनुसार अनाधिकृत रुपमा सरकारी जग्गा आफ्नो नाममा गर्ने विरुद्ध मुद्दा दायर गरी अनुसन्धान समेत अघि बढाइएको छ । मालपोतले फिर्ता गरेको जग्गाको सरकारी लालपूर्जा कायम गरी जिल्ला प्रशासन कार्यालय मलङ्गवामा बुझाइएको छ । सो लालपूर्जा जिल्ला प्रशासनमै सुरक्षित राखी जिल्लामा व्यक्तिको नाममा पुगेका थप सरकारी जग्गा खोजबिन गरी फिर्ता ल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।
केही हप्ताअघि सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल सर्लाहीको बरहथवा पुग्नुभई व्यक्तिको नाममा पुगेको सरकारी जग्गा फिर्ता गराउने अभियानको शुभारम्भ गर्नुभएको थियो ।