logo
२०८१ मंसिर १३ बिहीवार



धेरै मूल्य पाउने भ्रममा मारिन्छन् किसान मैत्री सालक

खुला |


धेरै मूल्य पाउने भ्रममा मारिन्छन् किसान मैत्री सालक


केशवराज पौडेल
काठमाडौं,माघ ८ गते । विश्वमै एकमात्र खपटायुक्त स्तनधारी जीव सालक अस्तित्वकै खतरामा छ । सालकको खपटा सहित यसको व्यापारमा संलग्नहरू दैनिक जसो पक्राउ पर्न थाले पछि सालकको अस्तित्व खतरामा पर्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
धेरैले सालकको खपटाको लाखौं रुपिया मूल्य पर्ने भ्रममा परेर यसको कारोवार गर्ने गरेको र चोरी शिकारीमा संलग्नहरूले पनि राम्रो मूल्य पाउने आशामा सालक मार्ने गरेको छन् तर प्रहरी तथा बन अधिकारीहरू भने त्यसमा सत्यता नभएको बताउँछन् ।
एउटा सालकको खपडाको मूल्य नेपाली बजारमा पाँच हजार पनि आउँदैन तर हल्लानै हल्लाको पछि लागेर खतराको सूचीमा रहेको सालक मारेकोमा उनीहरूले पछुतो मान्ने गरेका छन्, तर संरक्षित सालक मारेमा सात बर्षदेखि १५ सम्म कैद तथा एकलाखदेखि पाँच लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।
डिभिजन वन कार्यालय काठमाडौंका डिभिजनल वन अधिकृत बद्री कार्कीले सालकको खपटा सहित पक्राउ परेका अभियुक्तहरूले धेरै पैसा पाउने आशामा गुणकारी सालक मारेकोमा अभियुक्तले पछुतो मान्ने गरेका छन् ।
सालक साकाहारी भएको र उसले मानवलाई कुनै पनि क्षति नपु¥याउने जानेपनि राम्रो मूल्य आउने सुनेको भरमा सालक मार्ने गरेको बयान दिने गरेको कार्कीले बताउनुभयो । सालक जोगाउन यसको गुण तथा खपडाको मोल धेरै नभएको र संकटापन्न रहेको सबैले जानकारी पाउने कार्यक्रम संचालन गर्न आवश्यक रहेको कार्कीले बताउनुभयो ।
‘राम्रो मूल्य आउँछ रे भनेर लहैलहैका भरमा सालक मार्ने काम भइहेकाले त्यसलाई रोक्न अभियानकै रुपमा कार्यक्रम अघि बढाउने छौ’ डिभिजनल वन अधिकृत कार्कीले भन्नुभयो ।
नेपाल भरीबाट सालकको खपटा बोकेर काठमाडौ बेच्न आउने समस्याले काठमाडौंमा धेरै सालक मारेको देखिए पनि जिल्ला जिल्लामा जागरण अभियान आवश्यक रहेको उहाँले बताउनुभयो ।
सङ्कटापन्न जनावर सालक
नेपालमा २४ प्रकारका वन्यजन्तु संकटापन्न वन्यजन्तुको सूची रहेका छन् । विश्वमा आठ किसिमका सालक पाइने भए पनि नेपालमा दुई प्रजातीको सालक पाईन्छ । नेपालमा पाईने कालो सालक अति संङ्कटापन्न र तामे सालक संङ्कटापन्न अवस्थामा पुगेपछि त्यो जोगाउन वन विभालले सालक जोगाउने अभियाननै संचालन गरेको कार्कीले बताउनुभयो ।
सालकको खपटा सहित पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु् ऐन २०२१ अनुसार कारवाही गरिने कार्कीले बताउनुभयो ।

गुण बु्झ्न थाले किसानले
सालक सत्रु नभएर मित्र भएको बुझेसँगै काभ्रेका किसानले सालक जोगाउन थालेका बताउँछन् । ‘सालक झट्ट हेर्दा खपडा भएकाले डरलाग्दो देखिने सालक मानिसको सत्रु नभएर मित्र पो रहेछ, यो बुझेपछि सालक जोगाउन थालेका छौ’ काभ्रे बलथलीका सुरेन्द्र हुँमागाइले भन्नुभयो । काभ्रेकै पर्यटकीय गाउँ बल्थलीका स्थानीय पनि सालक मार्फत पर्यटन विकासमा चासो दिएका छन् ।
नेपालमा पाईने कालो सालक अति संङ्कटापन्न र तामे सालक संङ्कटापन्न अवस्थामा पुगेपछि सालकको उच्च वासस्थान रहेको काभ्रेको बल्थलीका किसानले सालक जोगाउने अभियानमा सक्रिय बनेर लागेको सालक संरक्षणमा क्रियाशील बिष्णु शर्माले भन्नुभयो ।
बालीको हानी नगर्ने, कृषिमा लाग्ने विनासकारी कीरा र धमिरा खाएर पर्यावरणलाई जोगाउने थाहा पाएसँगै किसानले सालक जोगाएर कृषिमा हुने क्षति कम गर्ने सोचाइ बनाएको शर्माले बताउनुभयो ।
केही बर्षअघिसम्म स्थानीयले सालकको जमिनमुनी बस्ने प्वालदेख्दा त्यसलाई खनेर भए पनि सालक निकालेर मारेर मासु खाने अनि खपटा घरमा सजाएर राख्ने गर्थे ।
सालक जोगाँउदा आफ्नो खेतीबारीमा आम्दानी बढ्ने बुझेर किसान आफ्नो गाँउलाई सालक गाँउ बनाउने अभियानमा सक्रिय बनेर लागेका छन् । केहीदिनअघि बल्थलीमा समाइएको सालकलाई स्थानीयले उसको पुरानो वासस्थानमा फर्काएका थिए । यो उनीहरुको सालक जोगाउने अभियानको प्रमाण हो ।
छिमेकी देश चीनमा बढ्दो सालकको चोरी निकासीसँगै पछिल्लो २० बर्षको समयमा सालकको संख्यामा ८० प्रतिशतले कमी आए पछि बल्थलीका किसानले त्यसलाई जोगाउन सक्रिय छन् । ‘पारिस्थितीकीय प्रणालीमा सालकको धेरै महत्व थाहा पाएर सालक जोगाउन सुरु गरेका छौ’ शर्माले भन्नुभयो ।
एउटा वयस्क सालकले प्रतिवर्ष ७ करोड कीरा तथा धमिरा खाने भएकाले कृषि क्षेत्रमा पाइने हानिकारक कीराको खानाले करोडौं रुपियाँको क्षति रोकथाम गरिरहेको पनौतीका मेयर मीम न्यौपानेले बताउनुभयो । उहाँले सालक संरक्षणको लागि पनौती नगरपालिकाले विशेष योजना बनाएर अघि बढ्ने समेत बताउनुभयो । उहाँले पनौतीको बसपार्कमा गैरसरकारी संस्थासँगको समन्वयमा होर्डिङ बोर्डमार्फत सालक जोगाउने उपाय सहितको सूचना दिएको बताउनुभयो ।
छिमेकी देश चीनमा यसको अत्याधिक खपत भएसँगै यसको संरक्षणमा सरकारी निकायले समेत चासो दिएर काम गरिरहेको छ । विश्वमै खपटायुक्त एकमात्रै स्तनधारी जनावर रहेको सालकले एक बर्षमा एउटामात्रै बच्चा जन्माउने गरेको छ । कालो सालक अति संकटापन्न तथा सेतो सालक संकटापन्न भएकाले यसको संरक्षण आजको आवश्यकता भएको पनौती–११ बल्थलीका वडाअध्यक्ष तारामान लामाले बताउनुभयो ।
सालक जोगाउनै समस्या
सालकको वासस्थान निरन्तर विनाश भएसँगै सालक जोगाउन चुनौती बढेको छ । अवैध चोरी सिकारी, परम्परागत औषधिमा प्रयोग गर्न मिल्छ भन्ने अन्धविश्वासको कारणले सालक जोगाउन समस्या परेको डिभिजनल वन अधिकृत कार्कीले बताउनुभयो । स्थानीय स्तरमा समेत सालक संरक्षण शिक्षा कार्यक्रम र जनचेतनाको कमीले सालक संरक्षण हुन सकेको छैन उहाँले भन्नुभयो ।
सालक संरक्षणले परिस्थितिकीय प्रणालीलाई सन्तुलन राख्न, कमिला धमिराबाट हुने आर्थिक क्षति कम गराउन सहयोग पु¥याउने भएपछि किसान खुसी भएको बताउँदै अब स्थानीय पाठ्यक्रममा समेत सालक जोगाउने र यसको महत्व बुझाउने सामाग्री समेट्ने योजना नगरले अघि सारेको उपप्रमुख गीता बञ्जाराले बताउनुभयो ।
जंगल छेउकैले धेरै मार्छन्
प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सालकको खपटा बेच्नेमा जंगल छेउमै बस्नेको संख्या धेरै रहेको बताउनु भयो । सालकको खपटा बेचबिखनमा संम्लग्नलाई सिआइबीले नियन्त्रणमा लिने गरेकोमा धेरैले जंगलको छेउछाउमा बस्ने र धेरै मूल्य पाउने आसमा मारेको बयान दिने गरेको एसपी पाण्डेले बताउनुभयो ।
धेरै अन्जान तथा भु्लबस यसमा संम्लग्न रहे पनि धेरैले व्यावसायिक रुपमा खपटा बेच्ने गरेकाले त्यसमा प्रहरीले धेरै ठाउँबाट नियन्त्रणमा लिएको समेत उहाँले बताउनुभयो । एसपी पाण्डेले भन्नुभयो,‘सालक दुर्लभ प्राणी भएकाले यसलाई रोक्न सबैले प्रयास थाल्नुपर्छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?