logo
२०८१ मंसिर १३ बिहीवार



च्याउ खेती : लगानी चालीस हजार आम्दानी चार लाख

खुला |


च्याउ खेती : लगानी चालीस हजार आम्दानी चार लाख



चाँदनी आचार्य

लम्की, माघ ९ गते । थोरै लगानीमा च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कैलालीको घोडाघोडी नगरपालिकाअन्तर्गत साँडेपानीका जगत साउदले च्याउको व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।
अछामबाट २०६४ सालमा कैलाली झर्नुभएका साउदको सम्पत्तिको नाममा छ धुर ऐलानी जग्गामा बनेको सानो झुपडीबाहेक अरू छैन । कमाइ गर्न विदेश जाने रहर पनि उहाँमा कहिल्यै पलाएन ।
उहाँले घर नजिकै रहेको दशरथ माध्यमिक विद्यालयको पाँच कट्ठा जग्गा खेतीपातीका लागि भाडामा लिनुभयो र एक÷दुई वर्ष खेती गर्नुभयो तर सुक्खा जमिनले राम्रो उत्पादन नदिएपछि उहाँले च्याउ खेती गर्ने सोच बनाउनुभयो । जुन सोचले उहाँलाई अहिले लखपति बनाउन थालेको छ ।
२०६८ सालमा छिमेकीको सहयोगमा च्याउ खेती गर्न सिकेको बताउँदै साउदले अरू व्यवसायभन्दा च्याउ खेती व्यवसाय गर्न सजिलो र आम्दानी पनि राम्रो भएको बताउनुभयो । पहिलापहिला आम्दानीको यकिन विवरण नराखे पनि छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको उहाँको अनुभव छ । यो वर्ष मात्र उहाँले ४० हजार लगानीमा च्याउ खेती सुरु गर्नुभएको छ । सो लगानीबाट उहाँले चार लाख आम्दानी गरिसकेको उहाँले बताउनुभयो ।
सात जनाको उहाँको परिवारमा तीन छोरा र दुई छोरी छन् । च्याउ खेतीबाट नै उहाँले छोरालाई क्याम्पस पढाउनुभएको छ भने दुई छोरीलाई फार्मेसी र ल्याब पढाउनुभएको छ । १० वर्षसम्मका लागि विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएका साउदले यो वर्षदेखि बेमौसमी च्याउ उत्पादन गर्ने सोच बनाउनुुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?