logo
२०८१ मंसिर १३ बिहीवार



काँग्रेसमा जुट्यो सहमति

खुला |


काँग्रेसमा जुट्यो सहमति


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठकले पार्टीको आन्तरिक विषयमा सहमतिका साथ अगाडि बढ्ने सहमति गरेको छ । अघिल्लो महिना केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका बहुमतबाट सार्वजनिक गरेपछि बढेको मतान्तर लामो समयको द्विपक्षीय संवादपछि शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति जुटाएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ देखि अपराह्न ४ बजेसम्म बसेको बैठकले सबै विषयमा सहमतिका साथ अगाडि बढ्ने सहमति भएको जानकारी पूर्वउपसभापति प्रकाशमान सिंहले दिनुभयो ।
नेता सिंहले भ्रातृ सङ्गठन, महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने, क्रियाशील सदस्यता वितरण विषयमा छानबिन समिति गठन गर्ने, भ्रातृ सङ्गठनलाई क्रियाशील बनाउने लगायतका विषयमा अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
काँग्रेसको १४औँ महाधिवेशन आगामी २०७७ फागुन ७ देखि गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । सहमतिअनुसार गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेशस्तरका अधिवेशनको कार्यतालिका सहमतिमा परिमार्जन गरिने छ ।
नेपाल विद्यार्थी सङ्घ गठन गर्ने जिम्मेवारी सभापति देउवालाई यसअघि दिइएकोमा अब सहमतिमै केन्द्रीय तदर्थ समिति गठन हुने छ । त्यस्तै, विभिन्न जिल्लामा पार्टीको समायोजन प्रक्रियालाई पनि सहमतिमै टुङ्ग्याइने छ ।
शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?