गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीमा कार्यरत एकजना इन्जिनियरलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको टोलीले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीपकुमार साहलाई दुई लाख २६ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले गाउँपालिकाका विभिन्न वडामा ट्रान्सफर्मर जडानको विद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने क्रममा उहाँले सेवाग्राहीबाट घुस लिनुभएको हो । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६, स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडि नियन्त्रणमा लिइएको हो । उहाँसँग एक लाख साठी हजार र सत्तरी हजार रुपियाँको दुईवटा चेकसँगै नगद ३५ हजार रुपियाँ नगद बरामद गरी अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।