logo
२०८१ मंसिर १४ शुक्रवार



सन्दर्भ : शहीद सप्ताह ‘सम्झिन थालेकोमा खुसी छौँ’

खुला |


सन्दर्भ : शहीद सप्ताह  ‘सम्झिन थालेकोमा खुसी छौँ’


शिवा तामाङ / यलु जोशी

काठमाडौँ, माघ १३ गते । शहीदका परिवारहरू स्वयं अहिले शहीदका गाथालाई जीवन्त बनाउन जुट्नुभएको छ । प्रजातन्त्रका लागि ज्यानकै आहुति दिएका वीर शहीदको कदर हुन थालेकोमा शहीद परिवारले खुसी प्रकट गर्नुभएको छ ।
राणा शासनविरुद्ध विद्रोह गरेको आरोपमा फाँसी दिइएका शहीदको योगदानलाई जीवन्त बनाउन अहिले उहाँका परिवार, टोलछिमेक र स्थानीय तहलगायत जुटेको पाइएको छ । राणा शासनविरुद्ध शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले विद्रोह गर्नुभएको थियो । राणा शासकले ती चार शहीदलाई १९९७ सालमा झुन्ड्याएर र गोली हानेर मृत्युदण्ड दिएका थिए ।
चार शहीदको बलिदानले राणा शासनविरुद्ध नेपाली एकजुट भएर जागे । परिणामस्वरूप राणा शासनको अन्त्य भयो । त्यसको मीठो परिणाम सबै नेपालीले पाएका छन् । अभिव्यक्ति स्वतन्त्रतालगायत प्रजातन्त्र र गणतन्त्रसम्मको शासनपद्धतिमा नेपाली रमाइरहेका छन् । लोकतन्त्रको मार्गमा राष्ट्रलाई अगाडि बढाउन बलिदान दिएका शहीदको योगदानको कदरस्वरूप सरकारीस्तरमा त कार्यक्रम साताव्यापी हुने गरेको छ ।
शहीद गङ्गालालको घर भएको प्याफल टोलमा अहिले शहीदकै योगदानको विषयमा चर्चा हुन्छ । शहीदका परिवारहरू अहिले विभिन्न कार्यक्रम आयोजना गर्न र अन्य कार्यक्रममा सहभागी हुन व्यस्त हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिका–१९, प्याफलमा २०३६ सालमा ‘गङ्गा क्लब’ स्थापना गरियो । विविध कारणले बीचमा केही समय यो क्लब बन्द भयो । प्याफल टोलवासीले शहीद गङ्गालालको स्मृतिमा स्थापना गरेको क्लबलाई वि.सं. २०६४ देखि फेरि सञ्चालन गर्दै आएको क्लबका सचिव उमेश कर्माचार्यले जानकारी दिनुभयो ।
कर्माचार्य भन्नुहुन्छ, “शहीदको टोलवासी हुन पाउँदा हामीलाई गौरव लाग्छ । देशमा राम्रो व्यवस्था आओस् भनेर आफ्नो प्राण दिने शहीदलाई सधैँ सम्झनुपर्छ । गङ्गालालबारे भावी पुस्तालाई बताउन त केही न केही काम निरन्तर चल्नुपर्छ भन्ने सोचले गङ्गा क्लब गठन गरिएको हो ।”
शहीद दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, टोलका धार्मिक तथा पुराताŒिवक स्थलको संरक्षण, सरसफाइ र टोल सुधारका कामलाई क्लबले निरन्तरता दिँदै आएको छ । “क्लबको नाम देख्नेबित्तिकै जोकोहीले शहीद गङ्गालालको नामको क्लब रहेछ भनेर थाहा पाउँछन् र सोध्छन् । यसमा हामीलाई खुसी लाग्छ”, सचिव कर्माचार्यले भन्नुभयो । साथै क्लब अगाडिको मन्दिर छेउमा शहीद गङ्गालालको अर्धकदको सालिक राख्ने पहल गरिरहेको जानकारी उहाँले दिनुभयो ।
त्यसैगरी धर्मभक्त माथेमाका भतिज नरेश माथेमाले धर्मभक्तलाई झुन्ड्याइएको स्थान सिफलको उकालोमा करिब चार वर्षअघि माथेमा सामाजिक गुठीले अर्ध कदको सालिक स्थापना गरेको बताउनुभयो । उहाँले देश र जनताको हितका लागि ज्यान दिनुभएका हाम्रा अग्रजको आफ्नै पारिवारिक पहलमा करिब दुई लाख रुपियाँ लगानीमा अर्ध कदको सालिक स्थापना गरेको बताउनुभयो । उहाँले यो शहीद दिवसमा काठमाडौँ महानगरपालिकाले पूर्ण कदको सालिक बनाइदिने र स्थापना पनि शहीद दिवसको सुरुको दिन पारेर शुक्रबार नै गरियो भन्नुभयो ।
“धर्मभक्तलाई सजाय दिएको दिन १३ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सालिक अनावरण गर्दै हुनुहुन्छ । ज्यादै खुसी लागेको छ”, माथेमाले भन्नुभयो, “शहीद धर्मभक्त जन्मिनुभएको टोल ओमबहाल (यङ्गाल) टोलको खाली जमिनमा पार्क बनाई त्यहाँ धर्मभक्तको सालिक राख्ने काम हँुँदैछ । शहीद दिवस माघ १६ गते यसको उद्घाटन गरिनेछ । यस्ता गतिविधिले शहीदको योगदानको कदर सरकारी तवरबाट पनि हुन थालेकोमा खुसी छाँै, यसैगरी सबै शहीदलाई सम्झिइयोस् ।”
“धर्मभक्त खेलकुदसँग सम्बन्धित व्यक्तित्वको नाममा रङ्गशालाको नाम नराखिएकोमा भने हामी दुःखी छौँ । यही एउटा गुनासो छ”, माथेमाले भन्नुभयो । शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरीबोटमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । सो स्थानमा अहिले शहीद शास्त्रीको पूर्ण कदको सालिक राखिएको छ ।
नेपालको शासनव्यवस्था राम्रो होस्, नेपालीले सुख पाउन भन्ने उद्देश्यले जीवन दिएका शहीदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाउन सुरु भएको हो । सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । वि.सं. २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म विविध कार्यक्रम आयोजना गरी शहीद सप्ताह मनाइँदै आएको छ ।
वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपालका पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले वि.सं. १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत उहाँहरूको स्मरण गर्दै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?