बिर्तामोड, माघ १५ गते । नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र राखिएको छ ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यावस्थापन तथा जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भन्सार परिसरमा राखिएको स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसको कोरोना भाइरस भए नभएको स्वास्थ्य जाँच गरिने मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो । सहायता केन्द्रमा दैनिक दुइजना चिकित्सले बिहान ७ बजेदेखि रातीको ७ बजेसम्म शंकास्पद रोगीको र्याल र रगतको नमूना परीक्षण गर्ने र यो रोग लागेको शंका पाइएमा नजिकै रहेको काकडभिट्टा स्वास्थ चौकीमा पठाउने व्यावस्था मिलाइएको छ ।
स्वास्थ्य चौकीमा बिरामीको विशेष जाँच गर्ने व्यावस्था मिलाइएको समेत झापाका निमित्त जनस्वास्थ्य प्रमुख इश्वरी पौड्यालले बताउँनुभयो । नेपाल भारत खुल्ला सिमा रहेकोले समेत यो रोग भित्रिन नदिन पूर्वी नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताउनुभयो ।