तारा चापागाईं दुबे
कास्की, माघ १७ गते । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् । सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले पदमार्गमा यात्रा गरेका छन् । त्यस्तै सन् २०१८ मा एक लाख ८० हजार ९४ जना पर्यटकले पदमार्गको भ्रमण गरेका थिए । पदमार्गको भ्रमण गर्नेमा सार्क राष्ट्रका ४६ हजार ९९० र अन्य देशका एक लाख ३३ हजार १०३ जना रहेका बरालले जानकारी दिनुभयो ।
सार्क राष्ट्रमध्ये भारतका बढी र सार्कबाहेक अन्य देशमा चीन, फ्रान्स, जर्मन, बेलायत, केरिया, अस्टे«लिया, मलेसिया, अमेरिका, क्यानाडालगायतका देशका पर्यटक बढी छन् । विशेषगरी पदमार्गमा भदौको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म पर्यटकको चाप बढी हुने गर्दछ । पदमार्गको मुख्य केन्द्र मानिएको अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा छ ।
पदमार्गमा जाने एक तिहाइभन्दा बढी आधार शिविरसम्म पुग्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये करिब ५० हजारको हाराहारीमा आधार शिविर पुग्ने गरेको बताउनुभयो । पदमार्गको सुधारसँगै आर्थिक पूर्वाधार निर्माणमा गाउँपालिका लागेको र हाल विभिन्न काम सुरु गरेको कुँवरले जानकारी दिनुभयो । पदमार्गलाई वर्षभर नै सञ्चालनसँगै एक पटक आएका पर्यटकलाई पटकपटक आउने वातारण बनाउनसमेत आफूहरू लागेको
उहाँको भनाइ छ ।
स्थानीय व्यवसायीसमेत रहेका अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङले केन्द्र र प्रदेश सरकारले पदमार्गको विकास र विस्तारमा जुन रूपले काम गर्नुपर्ने हो नगरेको भन्दै गुनासो गर्नुभयो ।