गोकर्ण दयाल
बैतडी, माघ १८ गते । बैतडीमा नेकपाका वडा कमिटी अध्यक्षमाथि कुटपिट भएको छ । कुटपिटबाट वडा अध्यक्षको दाहिने हात भाँचिएका छ भने देब्रो हातमा गम्भीर चोट लागेको छ ।
दशरथ चन्द नगरपालिका वडा नम्बर १० का नेकपा वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि शुक्रबार अपरान्ह वडा कार्यालयमै कुटपिट भएको हो । कुटपिटमा संलग्न सोही वडाका त्रिलोक बिष्टलाई प्रहरीले थुनामा राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकरी दिएको छ ।
कुटपिटबाट वडा कमिटी अध्यक्ष लावडको दाँया हातको नाडी र बुढी औला गरि दुई ठाउँमा भाँचिएको छ भने देबे्र हातमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बैतडीको रिपार्टमा जनाईएको छ ।
वडा कमिटी अध्यक्ष प्रकाश लावडले शुक्रबार आफूमाथि जातीय रुपमा समेत तँ दलितलाई माओवादीमा लाग्दा हामीले बचाएको हौं भन्दै कुटपिट भएको बताउनुभयो । अध्यक्ष लावडले आफू पायल्स रोगी भएकोले वडा कार्यालयमा रहेका स्वास्थ्यकर्मीसँग उपचारको सल्लाह माग्न जाँदा मादक पदार्थ सेवन गरेका बिष्टले कुटपिट गरेको बताउनुभयो ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी प्रमुख ( डिएसपी) डिल्लीनारायण पाण्डेयले कुटपिटबाट लावडको हात भाँचिएको र कुटपिटमा संलग्नलाई थुनामा राखेको बताउनुभयो । डिएसपी पाण्डेयले कुटपिटमा संलग्न त्रिलोक बिष्टले मादक पदार्थ ( रक्सी) सेवन गरेको पाईएको बताउनुभयो ।
पीडिको जाहेरीपछि घटनाको विस्तृ अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।