गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १९ गते । राजधानीको चावहिल मित्रपार्कमा सवारी चालक तथा बटुवा दुवैलाई आवागमनमा सकस छ । बौद्ध–गुह्येश्वरी खण्डबाट मित्रपार्क, कालोपुल हुँदै मित्रपार्क, गौशालाबाट मित्रपार्क र चावहिल स्तुपाबाट मित्रपार्क जोडिने विभिन्न सडकले गर्दा मित्रपार्कमा बटुवालाई बाटो काट्न र सवारी चालकलाई सवारी हाँक्न निकै कष्ट भइरहेको छ ।
बटुवा जयवागेश्वरीका पञ्चराम महर्जन भन्नुहुन्छ, ‘‘यहाँ बाटो काटेर वारपार हुनै कठिन छ, मोटरले धक्का दिइहाल्ला भन्ने संशय छ । केही समयअघि यही क्षेत्रमा सवारीले ठक्कर दिएर बटुवाको मृत्यु भएको थियो ।’’ यी सबैतर्फको निकास सहज बनाउन निकै समय सवारी रोकिराख्नुपर्ने समस्या पनि छ । राजधानीको गौशाला ट्राफिक कार्यालयका निरीक्षक दलराम टमाटाका अनुसार चावहिलमा खोपानीको पाइप बिछ्याउने कार्यबाट पनि असहजता देखा परेको हो भने मित्रपार्कमा बाटो खाल्डखुल्डी भएर पनि यस्तो भएको हो ।
तर ट्राफिक प्रहरीले धेरैबेर कुर्न पर्खन नपर्ने गरी सहजताका साथ आवागम व्यवस्थित गरिरहेको छ । मित्रपार्क, जयवागेश्वरी चोकमा ट्राफिक बत्ती नभएर पनि असहज अनुभव गरिएको बताउँदै निरीक्षक टमाटाले यहाँ बत्तीको व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ । टमाटा मित्रपार्क र गौशाला जयवागेश्वरीमा आकाशेपुलको टड्कारो आवश्यकता रहेको बताउनुहुन्छ । प्रायः सवारी चालकले गुह्येश्वरीबाट मित्रपार्क तर्फको उकालोमा मोटर चलाउन निकै गाह्रो हुने गरेको बताए ।