प्रकाशचन्द्र भट्टराई
दमौली, माघ २५ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको परम्परागत खोरमा खोरमा चितुवा परेको छ ।
गत माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय बालक इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोरको पासो थापेको थियो ।
करिब ३५ केजी तौल भएको भाले प्रजातिको चितुवा शनिबार विहान खोरमा परेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विजयचन्द्र देवकोटाले बताउनुभयो । उक्त चितुवा शनिबार नै पोखरा महानगरपालिका ३१ बेगनासताल स्थित पचभैया प्रणी उद्यानमा पठाइएको देवकोटाले जानकारी दिनु भयो ।
यस अघि भानु नपाका विभिन्न वडामा डिभिजन वन कार्यालय, सामुदायिक वन तथा स्थानीयको प्रयासमा बनाईएको खोरमा पाँच वटा र व्यास नपामा एक वटा गरि ६ वटा चितुवा पासोमा परिसकेको छ ।
करिब दुई वर्षको अवधिमा तनहुँका चारवटा स्थानीय तहमा चितुवाको आक्रमणमा परि नौ जना बालबालिकाले ज्यान गुमाईसकेका छन् । भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क पछिल्लो समय बढेको छ ।