गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते । धादिङको गजुलीमा भएको दुर्घटनामा नायिका महिमा सिलवाल र उहाँको बहिनी शर्मिलाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।
नायिका महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी भएका उहाँहरु घरमा पुगेर आउनु भएको थियो । प्रहरी निरीक्षक भट्टका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र नायिका सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए । प्रहरीले बस तथा बस चालकलाई नियन्त्रणमा लिएको छ ।