लक्ष्मण दर्नाल
काठमाडौँ, फागुन ५ गते । बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । समितिले ओरिएन्टल को–अपरेटिभका सुधीर बस्नेत समितिले बोलाउँदा एकपटक पनि उपस्थित नभएको जनाएको छ ।
समस्याग्रस्त १२ वटा सहकारीमध्ये केहीले राजनीतिक आडमा समितिलाई अटेर गर्दै आएका छन् । छलफलका लागि बोलाउँदा पनि सञ्चालकहरूको दादागिरी चल्ने गरेको समितिको गुनासो छ । जसका कारण समिति गठन भएको दुई वर्ष हुँदा पनि अहिलेसम्म एउटा पनि सहकारीको समस्या हल भएको छैन । बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् ।
समितिमा सहकारीबाट समस्यामा परेकाको दैनिक भीड लाग्छ तर समिति गठन भएको दुई वर्षसम्म पनि पीडितले राहत पाउन सकेका छैनन् । सहकारी विभागले समस्याग्रस्त सहकारीको पहिचान गरी विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउँछ । मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरी निर्णय भएपछि समस्याग्रस्त सहकारी मानिन्छ । उक्त सहकारीबारे सहजकर्ता तथा व्यवस्थापनको काम समितिले गर्छ । हालसम्म १२ वटा सहकारी समस्याग्रस्त सहकारीको सूचीमा छन् । तर यी सहकारीले के कति रकम हिनामिना गरेका छन् ? र कति बचतकर्ताको बचत जोखिममा रहेको छ भन्ने तथ्याङ्क समितिसँगै छैन ।
समितिका सदस्य सचिव ध्रुवप्रसाद कोइराला भन्नुहुन्छ, “ओरिएन्टलका सात हजार बचतकर्ता रहेको देखिन्छ तर अन्यको खासै निश्चित देखिएको छैन । रकम पनि के केति डुबेको छ भन्ने तथ्याङ्क छैन । वर्षौंदेखि तिनीहरूको लेखा परीक्षण नै भएको छैन । त्यसैले कति रकम भन्ने कुरा यकिन छैन अडिट आएपछि थाहा हुन्छ ।” समितिले प्रभावकारी काम नगरिदिएको पीडितहरूको गुनासो छ । समितिले खोज अनुसन्धान तथा छलफलका नाममा वर्षौं बिताउने गरेको र समयमा निर्णय नगरिदिने भएकाले पनि थप समस्या भएको पीडितहरू बताउँछन् । सोसाइटल को–अपरेटिभकी सुशीला पाण्डे भन्नुहुन्छ, “समितिले समयमा निर्णय गरिदिनु प¥यो, काजगात हेरेर प्रमाण हेरेर काम गर्नुप¥यो, हामीले प्रमाण दिएका छौँ ।” समितिले समस्याग्रस्त सहकारीका सञ्चालकलाई बोलाएर छलफल गर्ने काम गर्दै आएको छ । सञ्चालकबीच नोक्सानी बाँडफाँड गरेर बचतकर्ताको बचत फिर्ता दिलाउने पहल समितिले गर्दै आएको छ ।
सहज तरिकाले काम हुन नसक्ने सहकारीको बैङ्क खाता, अचल सम्पत्ति रोक्का गर्ने गर्दछ । हाल १२ वटै सहकारीको बैङ्क खाता र अचल सम्पत्ति रोक्का गरिएको छ । तर समस्याको समाधान हुन सकिरहेको छैन । सदस्यसचिव कोइरालाको भनाइ छ, “समस्याग्रस्त सहकारीहरू, जो टाट पल्टेकालाई उठाउने कुरा हो, सामान्य तरिकाले भएको छैन । सहकारी समस्याग्रस्त भएपछि सञ्चालकहरू नाफा नोक्सानी बेहोर्नभन्दा पनि कसरी बच्न सकिन्छ भन्ने दाउमा छन्, हामीले व्यवस्थापनको काम गर्ने हो, समन्वय गर्ने हो ।”
समिति अहिले पदाधिकारीविहीन छ । सदस्यहरू नियुक्ति भएका छैनन् । दुई वर्षअघि नियुक्ति हुनुभएका सदस्यहरूको पदावधि सकिएपछि अहिले नियुक्ति भइसकेको छैन । जसले गर्दा काममा तीव्रता दिन असहज भएको समितिले जनाएको छ । समितिमा अध्यक्षसहित छ जना पदाधिकारी रहने व्यवस्था छ ।