गोकर्ण दयाल
बैतडी, फागुन ६ गते । बैतडीको तल्लो स्वराड क्षेत्रका महिलामा अझै पनि दुईवटा कालको पीडा कायमै रहेको छ । ती दुई पीडामा एउटा जतकाल (सुत्केरी) र अर्को महाकालीको जोखिमपूर्ण ट्युब पार गरेर सुत्केरी हुनुपर्ने काल कायमै छ ।
गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि चिकित्सकीय सेवा उपलब्ध छैन । रक्तस्राव रोक्ने औषधि र जिल्लामा दक्ष स्वास्थ्यकर्मी नहुँदा शिवनाथ गाउँपालिका–१ की २१ वर्षीया सुत्केरी गोमती चाँडको २०७६ भदौमा मृत्यु भएको थियो ।
सुत्केरी मात्रै होइन, पञ्चेश्वर गाउँपालिका–३ कुलाउका ३५ वर्षीय देवदत्त भट्ट विषाक्त खानाले बिरामी हुँदा उपचारका लागि बैतडीबाट डडेलधुरा लैजाँदै गर्दा गत माघ २५ गते बाटोमै मृत्यु भयो ।
बैतडी अस्पतालमा दरबन्दी भए पनि डाक्टर छैनन्, पद रिक्त छ । तीनवटा स्थानीय तह रहेको स्वराड क्षेत्रका करिब एक लाखको जनसङ्ख्यालाई गाउँमै स्वास्थ्य सेवा दिन स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि डाक्टर नहुँदा आफैँ बिरामी जस्तो छ ।
डाक्टर न जिल्लामा छन् न त गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा । उपचार गर्न स्वराडवासीसामु एउटै विकल्प भारतीय सीमा क्षेत्रका अस्पताल मात्र हो । तर भारत जान पनि नदीमा पुल छैन । ज्यान बचाउन ज्यान नै दाउमा राखी महाकाली नदीमा जोखिम मोलेर ट्युबमा तर्दै भारत जानुपर्ने बाध्यता छ ।
उपचार गर्न भारत जाँदै गरेको अवस्था शिवनाथ गाउँपालिका–२ की मनहरी साउदले दुई वर्षको नानी काखी च्यापेर महाकालीको पानीमा ट्युबमा हेलिनुभयो । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्, त्यसैले भारत जान लागेको मनहरीले बाध्यात्मक
पीडा सुनाउनुभयो ।
“आपतकालीन अवस्थामा गर्भवती महिला पनि यसरी नै ट्युब तर्नुपर्छ । भारतीय अस्पताल नपुगुन्जेल जतकाल (सुत्केरी) हुन नसकेर मरिन्छ कि महाकाली तर्दा ट्युब पल्टेर मरिन्छ भन्ने कुरा अस्पताल नपुन्जेल ठेगान हुँदैन,” साउदले भन्नुभयो । फर्किंदा पनि त्यही ट्युब नै सहारा भएकाले घर नपुगुन्जेलसम्म मर्ने बाँच्ने ठेगान नहुने त्रास उहाँले व्यक्त गर्नुभयो ।
बैतडीको तल्लो स्वराड क्षेत्रका स्थानीयवासीलाई स्वास्थ्य सेवा दिन खोलिएको मेलैली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २० वर्षमध्ये बितेका १८ वर्ष डाक्टरको अनुहार नै देखिएन । दुई वर्षअघि आएका डाक्टर पनि सरुवा भएर गएपछि स्वराडवासीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर
चन्दले बताउनुभयो ।
स्वराडमा सडक पुगे पनि स्वास्थ्य संस्थामा डाक्टर नपुग्दा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको अध्यक्ष चन्दले बताउनुभयो । “स्वास्थ्य संस्थामा बजेटको कमी छैन, सडक पुगेको छ । प्रदेश सरकारले एम्बुलेन्स पनि दिएको छ तर डाक्टरको दरबन्दी भएर पनि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्,” चन्दले भन्नुभयो ।
पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका गरी तीनवटा स्थानीय तहलाई पायक पर्ने ठाउँमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार डाक्टर बस्ने गरेका छैनन् । स्वराडमा डाक्टर अनुहार देखाउन मात्रै आउने गरेको स्थानीयवासीले पीडा सुनाउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि स्थानीयवासी उपचार गर्न भारत जाने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौंँ, तर डाक्टर आएनन् । एक वर्षअघि आएका डाक्टर पनि सरुवा भएर जानुभयो । दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफ नर्ससमेत सरुवा भएर गएका छन् ।”
डाक्टर र स्टाफ नर्स नभएपछि अहेवको भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको अहेव मुकेशकान्त दयालले बताउनुभयो । २०१६ सालमा केशरपुर हेल्थ सेन्टरका नामले स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र नामकरण भई २०५६ सालदेखि एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी कायम भएको थियो तर १८ वर्षसम्म यहाँ डाक्टर देखिएका छैनन् ।
सङ्घीयतापछि जिल्लामा रहेका डाक्टरले समायोजनमा सङ्घ रोज्दा अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर अभाव भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “डाक्टरको दरबन्दी पूर्ति गर्न सङ्घीय सरकारले लोकसेवा खोलेको छैन । प्रदेशमा लोकसेवा आयोग गठन हुन सकेको छैन । मलाई डाक्टर भर्ना गर्ने अधिकार छैन । यसले गर्दा अन्योल सिर्जना भएको छ ।”