कोकिला ढकाल
इलाम, फागुन ९ गते । होटल, रिसोर्ट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौँ खर्चेर रिसोर्ट, सुविधा सम्पन्न होटल र कटेज निर्माण गरेर सञ्चालनमा ल्याएपछि होमस्टे व्यवसायलाई समस्या परेको हो ।
सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा करिब ६३ घरमा होमस्टे सञ्चालन गरिएको छ । सस्तो खाना र बास, पारिवारिक वातावरण स्थानीय उत्पादनको खानाको परिकार, कृषिले सुधारिएको जीवनशैलीसँगको निकटताले पर्यटकका लागि प्रिय बनेको अन्तुमा सुविधा सम्पन्न रिसोर्ट, होटल र कजेटले होमस्टेको पहिचान नैै हराउने स्थितिमा पुगेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।
दर्जनभन्दा बढी कटेज छन्, होटल पनि धेरै बन्न थाले, उनीहरूले दिने सुविधा र होमस्टेले दिने सेवा सुविधा धेरै फरक छन्, आले भन्नुहुन्छ, होटलमा बस्न र पारिवारिक वातारणमा बस्न पनि धेरै फरक हुन्छ ।
होमस्टे नै सञ्चालन गर्दै आउनुभएकी राधिका मगर पनि रातारात जस्तो होटल बन्ने गरेको बताउनुहुन्छ । आज बेलुका सुत्दा केही हुँदैन, बिहान उठ्दा होटल ठडिएको हुन्छ, राधिकाले व्यङ्ग्य गर्दै भन्नुभयो, को कहाँबाट आएर व्यवसाय सुरु गर्छ पत्तो छैन, यसले होमस्टेलाई समस्या पारेको छ । दैनिक २० जनासम्म पाहुना राख्ने राधिकाले अचेल पर्यटक पनि सुविधा भोगी भएको बताउनुभयो ।
अर्का होमस्टे सञ्चालक एकराज घिमिरे पनि होमस्टेलाई पछिल्लो पटक निर्माण थालेका होटलले सञ्चालनमा चुनौती थपेको बताउनुभयो । होटलमा भन्दा होमस्टेमा खाना तथा बासको दररेट न्यून छ, खानाको गुणस्तर राम्रो छ, घिमिरे भन्नुहुन्छ, तर न्यून दरमा खाना र बासको व्यवस्था गर्दा पनि पर्यटकले सहर बजारको जस्तो महँगो होटल रुचाउने गरेका छन् ।
होमस्टेले एकै दरमा खाना खुवाउने र बास बसाउने व्यवस्था मिलाएका छन् । घिमिरेका अनुसार प्रतिछाक १७० रुपियाँ सादा खाना र चार जनासम्म बस्न सक्ने एटेज कोठालाई एक हजार तथा चार जनासम्म बस्ने ननएटेच कोठाका लागि सात सय रुपियाँ दर राखिएको छ । होटलमा दररेट नभएको र पर्यटकबाट मनलाग्दी लिँदा हुने गरेको आरोप उहाँले लगाउनुभयो ।
प्रदेश १ सरकारले गत वर्षदेखि पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रूपमा विकास गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । अन्तुमा पछिल्लो समय खुलेका होटल, रिसोर्टले समस्या पारेको छ, राईले भन्नुभयो, नगरपालिकाले अब अन्तुमा कडाइ गर्दैछ, होमस्टेको कार्यविधि अनुसार नगरपालिकाबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न दिने नीति लिएका छौँ ।
नगरपालिकाले अब निर्माण हुने होटलहरूलाई बिनास्वीकृति सञ्चालन गर्न नदिने नीति लिएको नगरप्रमुुख राई बताउनुहुन्छ । अहिले निर्माण भएर सञ्चालनमा आएका होटललाई पनि नगरपालिकासँग पुनः स्वीकृति लिन भनिएको राईले जानकारी दिनुभयो ।
सूर्योदयको दृश्यावलोकन र होमस्टेको बासले प्रसिद्ध अन्तुमा पर्यटकको चाप पनि उत्तिकै छ । दैनिक एक सयभन्दा बढी पर्यटक अन्तु डाँडामा पुगेर सूर्योदयको दृश्यावलोकन गर्ने गरेको टिकट काउन्टरका कर्मचारी बुद्धवीर तामाङले जानकारी दिनुभयो ।
यसरी आउने पर्यटक बेलुका अन्तु पुगेर बास बस्ने गर्छन् र बिहान सूर्योदयको दृश्यावलोकन गरेर फर्कने गरेका छन् । यसरी आउने पर्यटकले अन्तुमा प्रतिव्यक्ति सरदर पाँच सय रुपियाँ खर्च गर्ने गरेको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ ।
फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारीसाधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ ।